२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


व्यवसायीको दबावपछि बेनी बजारमा एकतर्फी यातायात हट्यो


143
Shares

म्याग्दी । व्यवसायीको दबावपछि बेनी बजारमा एकतर्फी यातायात सञ्चालन हटेको छ । मंगलबार बेनी नगरपालिकाको कार्यालयमा बेनी बजारको ट्राफिक व्यवस्थापनका सम्बन्धमा बसेको सरोकारवालाहरुको बैठकले एकतर्फी यातायात सञ्चालन हटाउने निर्णय गरेको हो । निर्णयसंगै सरोकारवालाहरु यसअघि आफुहरुले गरेको निर्णयबाट पछि हटेका छन् ।

मंसिर १४ गते बसेको बैठकको निर्णय अनुसार १ पुसदेखि कार्यान्वयनमा आएको एकतर्फी यातायात सञ्चालनले व्यवसायमा गम्भीर असर पारेको र थप असुविधा सिर्जना भएको भन्ने व्यवसायी र टोल सुधार समितिको माग अनुसार दुईतर्फी यातायात खुलाउने निर्णय भएको बेनी नगरपालिका–८ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।

मंसिर १४ गते नगरपालिका, प्रशासन, प्रहरी र उद्योग वाणिज्य संघको बैठकले सवारी साधनको बढदो चापसँंगै बेनी बजार भित्र हुने जाम हटाउने र सवारी आवतजावतलाई व्यवस्थित बनाउने विकल्प नभएपछि १ पुसदेखि एकतर्फी यातायात सुचारु गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने बजारभित्रका सडकमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको थियो । व्यवसायीको दबावपछि यस अघि भएको निर्णय उल्ट्याइएको बैठकमा सहभागि एक सदस्यले जानकारी दिनुभयो । ‘सिमित व्यक्तिको निहित स्वार्थको लागि कार्यान्वयनमा आएको एकतर्फी यातायात हटाउने निर्णय भएको छ’ ती सदस्यले भन्नुभयो ।

नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय ,जिल्ला ट्राफिक कार्यालय म्याग्दी, म्याग्दी उद्योग वाणिज्य संघ र बेनी बजार स्थित टोल सुधार समितिका पदाधिकारीबीच छलफल गरिएको थियो ।

जिल्ला ट्राफिक कार्यालय म्याग्दीका प्रमुख इन्द्रबहादुर नेपाली भने एकतर्फी यातायात हटाउने बिषयमा असहमति जनाउँदै बैठकबाट बाहिरिनु भएको थियो ।

बैठकमा व्यवसायीहरुले यसअघि बैठकबाट भएको निर्णय फिर्ता लिन माग गरेपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले एकतर्फी यातायात संचालनमा आएपछि सवारी साधनको बढ्दो चापसँगै साँघुरो सडकका कारण बजारभित्र हुने जाम हटेको, यातायात आवतजावतमा सहज, सुरक्षित र दुर्घटना न्यूनीकरण भएकोले यथावत राख्नुपर्ने बताउनु भएको थियो । साथै उहाँले यस अघि सरोकारवालाको संयुक्त बैठकले गरेको निर्णयलाई उल्ट्याउन नहुने धारणा राख्नु भएको थियो ।