
काठमाडौं, फागुन ४ । नेपाल प्रहरीमा एआईजीको तीन वटा दरबन्दी थप्न प्रस्ताव गरिएको छ ।
गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) समितिले ओएण्डएम गरेर तयार पारेको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ ।
सो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेमा प्रहरीमा एआईजीको संख्या ८ पुग्नेछ । अहिले प्रहरीमा ५ जना एआईजी छन् । मन्त्रिपरिषद्मा पेश गरिएको संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोमा एआईजी राख्न प्रस्ताव गरिएको छ ।
हाल मानवस्रोत र प्रशासन विभाग एउटै छ । मानवस्रोत र प्रशासनलाई छुट्याएर प्रशासनतर्फ पनि एआईजी राख्न प्रस्ताव गरिएको छ । दरबन्दी थप भएसँगै बढुवा हुने ३ जना एआईजीले प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेल र सहकुल थापासँग प्रतिस्पर्धा गर्नेछन् ।
हालका आईजीपी शैलेश थापा क्षेत्री २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् । प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर थप गर्न लागिएको एआईजी पदमा बढुवा हुन आधा दर्जन डीआईजीहरु प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस्