११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


१० विदेशीसहित ६३ सैनिक दीक्षित


0
Shares

काठमाडौं, फागुन १३ । शिवपुरीस्थित नेपाली सेनाको आर्मी कमाण्ड एण्ड स्टाफ कलेजबाट २६ औँ समूहमा १० विदेशीसहित ६३ ले ‘कमाण्ड एण्ड स्टाफ कोर्स’ पूरा गरी दीक्षित भएका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले कलेजमा मंगलबार आयोजित समारोहमा कोर्स पूरा गर्ने प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरे ।

नेतृत्व तहमा पुग्ने सैनिक अधिकृतका लागि कमाण्ड एण्ड स्टाफ कोर्स अनिवार्य मानिन्छ । वि.सं २०४९ मा स्थापना भएको उक्त कलेजबाट एक हजार ५३ ले उक्त कोर्स पूरा गरेको  दीक्षान्त समारोहमा जानकारी दिइयो । तीमध्ये विदेशी सैनिकको सङ्ख्या ८३ रहेको छ ।

करिब ५० साता अवधिको यस पटकको कमाण्ड एण्ड स्टाफ कोर्समा समग्र विधामा सेनानी चित्रबहादुर कार्की उत्कृष्ट घोषित हुनुभयो । यस कोर्सलाई त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरको मान्यता प्रदान गरेको छ । सो २६ औँ समूहमा नेपाली सेनाका ५०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक अधिकृत सहभागी थिए ।

बङ्गलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स्, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, श्रीलङ्का र संयुक्त राज्य अमेरिकाका पनि एक–एक सैनिक अधिकृत सहभागी थिए । प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै प्रधानसेनापति थापाले व्यावसायिक सैनिक संयुक्तरुपमा परिचालन हुँदाका बखत आइपर्ने चुनौतीलाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा प्रदान गरिएको ज्ञानको समुचित प्रयोग उदाहरण प्रस्तुत गर्न निर्देशन दिए ।

उनले भने, “अनुशासित व्यावसायिक सैनिकको रुपमा योजना बनाउँदै अघि बढाउन कलेजबाट प्राप्त गरेका ज्ञान कोसेढुङ्गा सावित हुने छ, यहाँ प्राप्त भएको ज्ञानबाट उच्च र बहुआयामिक नेतृत्व बन्न योगदान पुग्ने छ । ”

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक धर्मकान्त बाँस्कोटाले २१ औँ शताब्दीमा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न कलेजबाट प्राप्त ज्ञानले सहज तुल्याउने विश्वास व्यक्त गरे ।

कलेका प्रमुख एवं उपरथी ईश्वर हमालले कलेजबाट प्रदान गरिँदै आएको कोर्स र तालीमका बारे जानकारी गराए । सो अवसरका कलेजद्वारा प्रकाशित शिवपुरी जर्नलको पनि विमोचन गरियो ।

पछिल्लो समय उक्त कलेज विदेशी सैनिकको आकर्षणको केन्द्र बन्दै आएको छ । हरियाली वातावरण, शीतल हावापानी र मिलनसार व्यवहारका नेपाली सैनिकले विदेशी विद्यार्थीका बीचमा आर्मी कमाण्ड र स्टाफ कलेज लोकप्रिय बन्दै गएको छ । रासस