
बागलुङ । जिल्लाको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराह ताल धार्मिक तथा पर्यटकीय महत्वको भए पनि ओझेलमा परेको छ ।
वरपर घना जंगल । बीचमा नीलो पानी जमेर बनेको ताल । समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाईमा समथर भागमा रहेको यो ताल ‘बराह ताल’को नामले परिचित छ । ताल वरपर सेताम्मे हिउँ । छेउमा सिद्ध बराह मन्दिर ।
फागुनको सुरुमा निकै मनोरम देखिन्छ बराह ताल । अंग्रेजी ‘यू’ आकारमा फैलिएको ताल पर्यटकको पर्खाइमा छ ।
बागलुङको तमानखोला गाउँपालिका– २ मुठाचौरमा रहेको बराह तालमा वैशाख पूर्णिमामा हजारौं पर्यटकको घुइँचो लाग्ने गर्दछ ।
भौगोलिक जटिलता, घना जंगल, सडकको सहज पहुँच नपगेका कारण यो ताल पर्यटकको आकर्षक क्षेत्र भएर पनि ओझेलमा परेको भन्दै गाउँपालिकाले यसको तीव्र प्रचार थालेको छ । ताल धार्मिक महत्वसँग समेत जोडिएको स्थानीय खिमबहादुर पुन बताउनुहुन्छ ।
बराह ताल निकै मनमोहक र आकर्षक छ । पछिल्लो समय तमानखोला गाउँपालिकाले यसलाई पर्यटकीय गन्तव्य बनाउने प्रयासमा जुटेको छ ।
गाउँपालिकाको शीरमा रहेको ताललाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले गुरु योजना बनाएर तालको संरक्षण र प्रवर्द्धन गर्न थालेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरको भनाइ छ ।
धार्मिक महत्व बोकेको बराह ताललाई थप पर्यटकीय गन्तव्य रूपमा विकास गर्न सडकको पहुँच पु¥याउन आवश्यक छ । तालसम्म सडक पुर्याउन सके बाह्रै महिना यहाँ पर्यटक पुग्न सक्छन् ।
प्रतिक्रिया दिनुहोस्