२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सत्ता गठबन्धन तीन घण्टे बैठक निष्कर्षविहीन, भोलि १० बजे अर्को बैठक बस्ने


663
Shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै तीन घण्टा बसेको बैठकमा सहमति नजुटेपछि निष्कर्षविहीन भएको हो ।

‘आजको बालुवाटार बैठक सकियो,’ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘गठबन्धनका शीर्ष नेतृत्वको बैठक भोलि बिहान १० बजे बालुवाटार बोलाइएको छ ।’

सत्ता गठबन्धनको मुख्य दल कांग्रेस एमसीसी टेबुल गर्ने पक्षमा छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षमा छन् ।

एमसीसीमा सहमति खोज्न बिहीबार बिहान प्रधानमन्त्री शेरबादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

बिहीबार नै सिंहदरबारमा दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको थियो ।

गठबन्धनको बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, कानून मन्त्री दिलेन्द्रप्रसाद बडू बस्नुभएकाे थियाे ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी हुनुभयो ।