
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्ने जहाज भैरहवा आइपुगेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडानको तयारी छ ।
विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले शुक्रबारदेखि परीक्षण उडान हुने बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ । विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनका लागि ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको हो ।
विमानस्थल निर्माण आयोजना अन्तर्गत आइसिबी जिरो २ का प्रमुख इञ्जिनियर प्रविन न्यौपानेले विमानस्थलको भौतिक निर्माण कार्य सम्पन्न भइसकेपश्चात क्यालिब्रेशन फ्लाइट गर्न लागिएको बताउनुभयो ।
उहाँले करिब ७ देखि १० दिनसम्म एरो थाइको विमानले क्यालिब्रेशन फ्लाइटको काम गर्ने बताउनुभयो । उहाँले भन्न्ुभयो, ‘उडानका क्रममा खटिने कर्मचारी व्यवस्थापनको काम भइरहेको छ ।’ विमानस्थलमा जडान गरिएका उपकरण काम गर्न तयारी अवस्थामा छन् वा छैनन् भन्नेबारे प्रष्ट हुन परीक्षण गर्न लागिएको उहाँले बताउनुभयो ।
सरकारले आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
एडिबीको सहयोगमा निर्माण गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो ।
प्रतिक्रिया दिनुहोस्