
म्याग्दी । म्याग्दीका युवाहरु गाउँ फर्केर उद्यम गर्ने कार्यमा जुट्न थालेका छन् ।
विशेषगरि विदेश गएर फर्केका युवाहरु फलफूल खेती तथा पशुपालनमा लागेपछि यहाँको ग्रामीण जीवन शैलीमा समेत परिवर्तन आउन थालको छ ।
म्याग्दीका ६ वटै स्थानीय तहमा फलफूल खेती र पशुपालनतर्फ युवाहरुको आकर्षण बढ्दै गएको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।
पशुपालन, तरकारी–फलफूल र जडिबुटी खेती, साना तथा घरेलु उद्योगलगायतका व्यापार तथा व्यवसायमा युवा लागेका छन् । संघ, प्रदेश र स्थानीय सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेर अनुदान र सहयोग गर्न थालेपछि यस क्षेत्रमा युवाहरुको आकर्षण बढ्दै गएको हो ।
आफूले विदेशमा देखेको र सिकेको सीपलाई आफ्नै गाउँको पाखा पखेरा र खेतबारीमा प्रयोग गरिरहेका बेनी नगरपालिका–२ का अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।
विदेशबाट फर्केका युवाहरुले कुखुरापालन, बाख्रा पालन, फलफूल खेती, तरकारी खेती र पर्यटनको क्षेत्रमा रहर लाग्दो प्रगति गरिरहेका रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
व्यवसायिक कृषिका अलवा यहाँका युवाहरु जडिबुटी खेती र होटलको क्षेत्रमा पनि आकर्षित भएका छन् । जिल्लाको अन्नपूर्ण, मालिका र धवलागिरि क्षेत्रका युवाहरु जडिबुटी खेतीतर्फ पनि आकर्षित भएका स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।
विगत ५ वर्षको अन्तरालमा म्याग्दीमा फलफूल र पशुपालन व्यवसायले निकै फड्को मारेकोले फलफूल, तरकारी, दुग्धजन्य र मासुजन्य चीजहरुबाट जिल्लामा वार्षिक करोडौं रुपैयाँ आम्दानी हुन थालेको सरोकारवालाहरुको भनाइ रहेको छ ।
जिल्लाका दुई सयभन्दा बढी युवाहरुले व्यवसायिक रुपमा गरेको कृषि तथा पशुपालन अहिले जिल्लामा उदाहरणीय बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्