१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


गठबन्धनको बैठक निष्कर्षविहीन, आइतबार फेरि बैठक बस्ने


1.469k
Shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

शुक्रबार विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै एक घण्टा बसेको बैठकमा सहमति नजुटेपछि निष्कर्षविहीन भएको हो ।

‘आजको बालुवाटार बैठक सकियो,’ नेकपा माओवादी केन्द्रका प्रमुख स्वकीय सचिव गंगा दाहालले भन्नुभयो, ‘गठबन्धनका शीर्ष नेतृत्वको बैठक आइतबार पुनः बस्नेगरी सकिएको छ ।’

सत्ता गठबन्धनको मुख्य दल कांग्रेस एमसीसी टेबुल गर्ने पक्षमा छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षमा छन् । गठबन्धनकाे बिहीबार तीन घण्टा बसेकाे बैठक पनि निष्कर्षविहीन भएकाे थियाे ।

एमसीसीमा सहमति खोज्न बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

बिहीबार नै सिंहदरबारमा दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको थियो ।

गठबन्धनको बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, कानून मन्त्री दिलेन्द्रप्रसाद बडू बस्नुभएको थियो ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी हुनुभयो ।