२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दुई कर्मचारीको भरमा तीन जिल्ला


78
Shares

बागलुङ । बागलुङमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङमा हाल दुई जना मात्रै कर्मचारी छन् ।

वि.स.२०७४ सालमा स्थापना भएदेखि नै न्यून कर्मचारी राखेर कार्यालय संचालन हुँदै आएको हो । तीन जनाको दरबन्दी भए पनि एक जना कर्मचारी केही समयदेखि स्याङ्जामा काजमा छन् ।

एक जना अधिकृत र एक जना प्राविधिक सहायकको भरमा कार्यालय संचालनमा छ । साविक धौलागिरीको बागलुङ, म्याग्दी र मुस्ताङ गरी तीन जिल्लामा कार्य क्षेत्र रहेको यस कार्यालयमा दुई जना मात्रै कर्मचारीले काम गर्नु पर्दा समस्या भएको छ ।

तीन जिल्लामा अनुगमन लगायतका कामहरु गर्नु पर्ने, व्यवसायीहरुलाई तालिम प्रदान गर्नुपर्ने र बजार अनुगमन तथा जिल्ला बाहिर जाँदा कार्यालय रित्तै हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले बताउनुभयो ।

तीन जिल्ला हेर्ने छ कर्मचारी, डिभिजन प्रमुख र एक कार्यालय सहयोगी भए सबै जिल्लामा अनुमगन तथा विभिन्न कार्यक्रमहरु गर्न सकिने प्रमुख श्रेष्ठले बताउनुभयो ।