
काठमाडौं । संघीय सरकारले गर्न खोजेको प्रहरी भर्नालाई रोक्न माग गर्दै मधेश प्रदेश सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
संघीय सरकारले प्रहरी समायोजन गर्न अनिच्छा देखाएको तथा प्रदेश सरकारको कार्यक्षेत्रमा रहेका अधिकारलाई वञ्चित गर्दै प्रहरी भर्ना गर्न लागेको भन्दै मधेश प्रदेश सरकारले संघीय सरकारका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।
शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ मुद्दा दायर गरिएको बताउनुभयो ।
संघीय सरकारसँग प्रहरी समायोजनका लागि पटक–पटक आग्रह गर्दा पनि समायोजन गर्नका लागि चासो नदेखाएकाले बाध्य भएर कानूनी उपचारका लागि जानुपरेको उहाँले बताउनुभयो । बुधबार सर्वोच्च अदालतमा उत्प्रेषणयुक्त परमादेश समेतको मुद्दा दायर गरेको उहाँको भनाइ छ ।
सर्वोच्च अदालतले सो मुद्दको पेशी फागुन १० गतेका लागि तोकेको मन्त्री साहले जानकारी दिनुभयो । उहाँले अदालतले संविधानको पालना गर्न र चोर बाटोबाट गर्न लागिएको प्रहरी भर्नालाई रोक्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्