१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मन्त्रिपरिषद् निर्णय : श्रमिक अस्पताल स्थापना गरिने, २ अर्ब १४ करोड ऋण स्वीकार


286
Shares

काठमाडौं । सरकारले श्रमिक अस्पताल स्थापना गर्ने निर्णय गरेको छ । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो ।

मन्त्रिपरिषद्को फागुन ५ गते बसेको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न शुक्रबार सञ्चार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभएको हो ।

यस्तै, सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिव २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिको अध्यक्ष गंगाराम कँडेलको राजीनामा स्वीकृत गर्ने निर्णय भएको पनि बताउनुभयो । प्रवक्ता कार्कीले नवीकरणीय उर्जा अनुदान नीति २०७८ स्वीकृत गर्ने, मुलकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूचि १ हेरफेर गर्ने पनि निर्णय गरेको जानकारी दिनुभयो ।

सरकारले काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित गोविन्द मगरले पंक्षी पालेको स्थान र चितवन जिल्लाको राप्ती नगरपालिका ६ स्थित अनिता पशुपंक्षी कृषि फार्मलाई केन्द्र मानि उल्लेखित स्थानको वरपरको सय मिटरसम्मको क्षेत्रमा पंक्षी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनसम्मको अवधिसम्मका लागि बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय गरेको छ ।

सरकारले नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । सरकारले औषधि दर्ता चौथो संशोधन नियमावली २०७८ र नेपाल मेडिकल काउन्सिल पाचौँ संशोधन नियमावली २०७८ पनि स्वीकृत गरेको छ ।