
भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि क्यालिब्रेशन फ्लाइट सुरु भएको छ ।
थाइल्याण्डबाट एरोनटिकल रेडियो अफ थाइल्यान्ड कम्पनीको जहाज आएसँगै शुक्रबार क्यालिब्रेशन फ्लाइट सुरु भएको हो । थाइल्याण्डबाट आएको जहाजले मध्यान्हबाट क्यालिब्रेशन फ्लाइट सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय रुपन्देहीका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिनुभयो ।
प्रत्येक दिन विहान १० बजेदेखि बेलुकी साढे ५ बजेसम्म क्यालिब्रेशन फ्लाइट हुने उहाँले बताउनुभयो । यो समयमा आन्तरिक उडान बन्द रहनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक तथा आईसीबी–टूका व्यवस्थापक इञ्जिनियर प्रविन न्यौपानेले विमानस्थलको भौतिक पुर्वाधार निर्माण कार्यसम्पन्न भइ उपकरणहरू जडान भइसकेको बताउनुभयो ।
न्यौपानेले क्यालिब्रेशनको फ्लाइट ७ देखि १० दिनसम्म चल्ने जानकारी दिनुभयो । ग्राउण्ड, टावर, सञ्चार र भवनमा जडान गरिएका उपकरणले काम गरे नगरेको जाँच गर्न यान्त्रिक परीक्षण उडान सुरु गरिएको उहाँले बताउनुभयो ।
विमानस्थलको भौतिक निर्माण आयोजनाका प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले नाकाबन्दी, आन्दोलन, निर्माण सामग्रीको अभाव, कोभिड–१९ लगायत विभिन्न कारणले तोकिएको समयमा सोचेअनुरुप काम हुन नसकेको बताउनुभयो । भौतिक निर्माण तथा उपकरण जडानका सम्पूर्ण काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।
उडानले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तयार गरेको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । एडिबीको सहयोगमा निर्माण गरिएको विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनासमेत हो ।
प्रतिक्रिया दिनुहोस्