
काठमाडौं । उदय विक्रम थापाको पुर्ख्यौली घर सिन्धुली हो भने उहाँको बसोबास अहिले काठमाडौंमा छ । उहाँ गाँजाको राम्रो सदुपयोग गर्नुपर्छ र देशको आर्थिक अवस्थालाई माथि उकास्नु पर्छ भन्ने अभियानमा लाग्नु भएको धेरै वर्ष भइसक्यो । शुरुका दिनमा थापाले गाँजाबाट लत्ता कपडा लगायतका सामग्री तयार पारेर विदेशमा निर्यात गर्नुपर्छ भन्दा साथीभाई र आफन्तले राम्रो कुरा होइन भन्थे ।
३० वर्ष अघि देखि थापाले गाँजाको उत्पादनलाई नेपालमा बैधानिकता दिएर देशको आर्थिक अवस्था उकास्नु पर्छ भन्ने मान्यता राख्दै आउनु भएको छ । गाँजा भन्ने बित्तिकै मानिसले खान्छ नै यो लागू पदार्थ हो भन्ने सोच हटाउनु पर्ने उहाँको भनाई छ । खाने मान्छेले त लुकेर,ढाँटेर जसरी पनि खान्छ ? गाँजालाई ऐन कानून र नियम बनाएर यसको उत्पादनमा नियमन गरे दुरुपयोग हुन नसक्ने थापा बताउँनुहुन्छ । विदेशमा गाँजाको घर समेत बनिसकेको अवस्थामा र हजारौं मानिसले रोजगारी पाइरहेका बेला हामी भने अझै पछि परेको थापा बताउनुहुन्छ । नेपालमा गाँजा खेतीलाई नीति बनाएर वैधानिकता दिएको खण्डमा रोजगारीका लागि युवाहरु विदेश गइरहनु नपर्ने उहाँको भनाई छ ।
थापाले थुप्रै विदेशीहरुलाई समेत विदेशमा गएर गाँजाबाट उत्पादन गर्न सकिने बस्तुबारे प्रशिक्षण दिने गर्नुभएको छ । आफूले उठाएको विषयलाई अहिले भने सबैले सकारात्मक रुपमा हेर्न थालेकोप्रति थापा अब सरकारले गाँजा खेतीका लागि केही नीति तत्काल ल्याउँने विश्वासमा हुनुहुन्छ । सामाजिक काममा समेत सक्रिय थापा नेपाली सेनाका उपसेनानी समेत बन्नु भएको थियो । तर स्वास्थ्यका कारण पछि नोकरी छोड्नु भएको थियो । थापासंग इमेजखबरका लागि वर्षा पोखरेल र कलशा पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :
नेपालमा सरकारले गाँजा खेतीलाई प्रतिबन्धित रुपमा राखेको छ,तपाई चाहिँ गाँजा खेतीले वैधानिकता पाउनुपर्छ भनेर यो अभियानमा लागिरहनु भएको छ नि ?
हो, यो अभियानमा म किन लागेको भन्दा हाम्रो नेपालमा सन् १९७२ सम्म गाँजा खेती वैध थियो । सबैले गाँजा खेती गर्थे । विदेशीलाई बेच्थे पनि । तर पछि केही विदेशीहरुले यो लागुऔषध हो भनेर नेपाल सरकारलाई भ्रममा पारे । प्राकृतिक यो विरुवालाई अवैध बनाइयो । तर जुन देशले पहिला नेपाललाई गाँजा खेती गर्नुहुँदैन भनेर रोक लगाए अहिले ती मुलुकहरु गाँजा खेती गरेरै धनी भएका छन् । अर्वाै रुपैया आम्दानी गरिरहेका छन् । नेपालीहरु चाहि विदेशीको कुरा सुनेर पछि परे । विदेशीले गाँजा खेती बन्द गर्नुपर्छ भन्दा प्रकृतिले उपहार स्वरुप दिएको विरुवा रोप्नु हुँदैन भन्ने हामी कस्ता हौं ? गाँजाबाट चरेस बनाइन्छ त्यो चाहि अवैध हो । किनकि त्यो मानिसले बनाएको हो । गाँजाले नेपालको आर्थिक हैसियत माथि उकास्छ । तर, गलत बुझाइले गर्दा गाँजालाई नकारात्मक दृष्टिले हेरिएको छ । यो बहुउपयोगी बिरुवा हो । सरकारले नीति ल्याएर यसलाई अब बैध रुपमा खेती गर्न पाउने व्यवस्था गर्ने काम तत्काल अघि बढाउनुपर्छ नत्र हामी पछि पर्छाै ।गाँजालाई प्रतिबन्ध नगरी वैधानिकता दिएर उद्योगकै रुपमा चलाउन पाउँनुपर्छ । जनचेतनाको कमीले गाँजाप्रति नेपालीहरुको बुझाई नकारारात्मक बनेको हो ।
गाँजाबाट के के उत्पादन गर्न सकिन्छ ?
गाँजाबाट थुप्रै बस्तुहरु उत्पादन गर्न सकिन्छ । गाँजाबाट धागो, कागज, कपडा लगायतका सामग्री बनाउन सकिन्छ । गाँजाको बिऊबाट तेल, औषधि जस्ता कुराहरु उत्पादन गर्न सकिन्छ । गाँजाको बिऊ स्वास्थ्यका लागि धेरै लाभदायी मानिन्छ । गाँजाबाट २५ हजार प्रकारका सामग्री उत्पादन गर्न सकिन्छ । यसको डाँठबाट घर बनाउँन सकिन्छ । जुन घर आगोरहित, भुकम्परहित हुन्छ । युरोपमा गाँजाबाट घर नै बनाउन थालिसके । मुख्य कुरा त नेपाल सरकारले नीति ल्याउनुपर्यो अनि त्यो नीतिमार्फत गाँजा खेतीको नियमन गर्नु पर्यो, जनचेतना र शिक्षामा ध्यान दिनुपर्यो । गाँजा खाने व्यक्तिले त जसरी पनि खान्छनि, आज खानेले भोलि, पर्सि लुकीपिछी जसरी पनि खान्छ । उसलाई कसैले रोकेर रोकिने हो र ? मुख्य कुरा भनेको जनचेतना नै हो । गाँजा खेतीले नेपाली किसान धनी हुन्छन् । यसलाई कानुनी मान्यता दिनुपर्छ ।
गाँजा खेतीले नेपालको आर्थिक अवस्थालाई कसरी माथि उकास्छ सक्छ ?
एकदमै माथि उकास्छ । हामी देश समृद्धिका कुरा गरिरहेका छौं । हाम्रो सबै जग्गा जमीन बाँझो राखेर युवाहरु रोजगारीका लागि विदेश भासिएका छन् । ती युवाहरुलाई गाँजाखेती मार्फत स्वदेशमै रोजगारी दिन सक्छौ । उनीहरुलाई विदेश जानबाट रोक्न सक्छौ । ती खाली जमीनमा गाँजाखेती गरेर उद्योग,कलकारखाना र लाखौंलाई रोजगारीको सिर्जना गर्न सकिन्छ । गाँजा एउटा यस्तो बिरुवा हो, जसले बाँझो रहेको जमिनलाई २ वर्षमा मलिलो बनाउँछ । गाँजा जस्तोसुकै ठाँउमा पनि उम्रिन्छ । यसलाई सजिलो खेतिको रुपमा लिन सकिन्छ । गाँजालाई उर्वरा जमीन, धेरै पानी चाहिँदैन् । आज यूरोप अमेरीकाजस्ता मुलुकहरुमा गाँजाबाट धेरै वर्षसम्म टिकाउ हुने घरहरु बनिरहेका छन् । नेपालमा राम्रो मेसिन ल्याएर गाँजाबाट कपडा मात्रै बनाउने हो भने पनि विश्वभरी निर्यात गर्न सकिन्छ । गाँजाको बीउबाट तेल निकालेर इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ । त्यसकारण गाँजा नेपालको आर्थिक अवस्थालाई माथि उकास्ने बृहद स्रोत हो । अमेरिका, चीन लगायतका देशका सरकारले आज गाँजाबाट अर्वाै डलर आम्दानी गरिरहेका छन् । नेपालले पनि त्यसैगरी आम्दानी गर्न सक्छ ।
सरकारले गाँजा खेतीका लागि कस्तो नीति ल्याउनुपर्छ जस्तो लाग्छ तपाइलाई ?
सरकारले जनचेतनामूलक कार्यक्रमहरु ल्याउनु पर्यो । एकथरीले गाँजा खेती गर्नुहुँदैन भनिरहेकै छन् त्यो उनीहरुले गाँजाको उपयोगिता नबुझेर नै त होनि । चुरोट, रक्सी, सुर्ती जस्ता पदार्थहरु नेपालमा प्रसस्तै विक्रि भइरहेको छन् । ती गाँजा भन्दा खतरनाक हुन् । त्यसलाई चाँहि सरकारले रोक लगाएको छैन् । गाँजामा त औषधीय गुण छ । सरकारले एउटा निश्चित मापदण्ड बनाउनुपर्छ गाँजा खेतीबारे अनि यसको दुरुपयोग पनि हुन दिनु हुँदैन । गाँजालाई अवैध बनाउँदैमा खाने मान्छेले खान छोडेका छैनन् ।
नेपालबाट गाँजा चरेस अवैध रुपमा बाहिर निर्यात हुने गरेका कुरा हामीले सुनिरहेकै छौ । सरकारले गाँजाबाट उत्पादन हुने वस्तुको कर,मूल्य निर्धारण जस्ता कुराहरुमा ध्यान दिएर तत्काल नीति ल्याएमा नेपाल आर्थिक रुपमा निकै समृद्ध बन्छ । सरकारले गाँजाका सामग्री उत्पादनका लागि उद्योग कलकारखाना स्थापना गर्ने वातावरण बनाउनु पर्छ । कसैले गाँजालाई लागु औषधको रुपमा प्रयोग गर्न खोज्छ भने त्यसलाई नीति बनाएर रोक्नुपर्छ । तर यसको उत्पादन भने रोक्नु हुँदैन ।
हाल स्वास्थ्यमन्त्री समेत रहनु भएका विरोध खतिवडाले स्वास्थ्य मन्त्री हुनुअघि प्रतिनिधि सभामा गाँजा खेतीले वैधानिकता पाउनु पर्छ भनेर बोल्नु भएको थियो । त्यतिबेला त तपाई उत्साहित हुनु भयो होलानि हैन ?
उहाँले संसदमा त्यसरी कुरा उठाउँदा खुशी नहुने त कुरा नै भएन । म यसमा उहाँलाई धेरै–धेरै धन्यबाद दिन पनि चाहन्छु । किनभने एक त उहाँले संसदमा कुरा उठाएर सरकारको ध्यानाकर्षण गराउनुभयो । अर्काे कुरा नेपालको आर्थिक अवस्था माथि उठाउने कुरालाई उहाँले राम्रोसँग बुझ्नु भएछ भन्ने लाग्यो । मेरो पनि कुरा देश आर्थिक रुपमा बलियो बन्नुपर्छ र हामी आत्मनिर्भर हुनुपर्छ भन्ने हो । त्यसका लागि गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ भन्ने हो ।
अनि तपाइँले उहाँलाई भेटेर आफ्नो योजना सुनाउनु भयो कि भएनत?
मैले उहाँसंग भेट्ने मौका पाएको छैन । भेट्ने मौका पाउँदा मेरा कुरा राख्छु । गाँजा नेपालको वृहत आर्थिक स्रोत हो भनेर मैले कराएको यतिका वर्षपछि कसैले बुझेछ भने त्यो उहाँले नै बुझ्नु भएछ भन्ने लाग्यो । यस्तै नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले पनि गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ भनेर पैरवी गर्नु भएकोमा पनि खुशी छु ।
नेपालका राजनीतिक दलका नेता,आर्थिक क्षेत्रमा संलग्न व्यक्तिहरुले के गाँजाको उपयोगिताबारे नबुझेका हुन् त ?
बुझेका छन् । तर, व्यवहारमा ल्याएका छैनन् । नेपालमा गाँजा र चरेस हरेक वर्ष अवैध रुपमा कर छलि गरी बाहिर निर्यात हुने गरेको कुरा सुनिने गरेकै छ ।
यसबाट तस्करहरुले पैसा कमाइरहेका छन् । यदि यसलाई वैध गर्ने हो भने सबैले उत्पादन र्गछन् । जसले गर्दा सिमित व्यक्तिले मात्र नभई यसबाट देशले नै आम्दानी गर्नेछ ।
भोलि सरकारले तपाइँको ज्ञान र सीपको उपयोग गरेर सहकार्य गरौँ भन्यो भने तपाई तयार हुनुहुन्छ ?
म यो काममा लागेको थुप्रै वर्ष भयो । यो मेरो लागि होइन् । यो अब नेपाल र नेपालीको समद्धिका लागि हो,आउने पुस्ताका लागि हो । यसका लागि सरकारले मेरो अनुभवको उपयोग गर्न खोजे म तयार छु ।
तपाईले गाँजाबाट केहि उत्पादन पनि गरिरहनु भएको छ हो ?
मैले ‘हेभेन हेम्प’ कम्पनीमार्फत बेलायतमा गाँजाका उत्पादन विक्री गर्ने गरेको छु । तर आधुनिक मेसिन छैन। हातले नै विभिन्न सामग्री बनाउने गरेका छौ । यसका उत्पादनको माग विश्वमा धेरै छ खासगरी लत्ता कपडाको माग छ । तर हामीले माग जति उत्पादन गर्न सकेका छैनौ । गाँजालाई वैध बनाउने हो भने हामीले कुनै पनि देशैसंग अनुदान माग्नु पर्दैन । सरकारले गाँजा रोप्न नदिएपनि त्यत्तिकै उम्रिएको बिरुवाबाट उत्पादन गर्छाै । तर यो नियमित रुपमा पाइन्छ भन्ने छैन । यसको वृहत उत्पादन नहुनु,राम्रो मेसिन र ठुलो मात्रामा गाँजाको कच्चापदार्थ नहुँदा उत्पादन गर्न समस्या छ । कागज बनाउँदा ३० देखि ४० वर्ष लगाएर हुर्किएको रुख काटिन्छ । तर, त्यहि कागज गाँजाबाट पनि बनाउँन सकिन्छ । जुन ३ महिनामा प्रयोगको लागि योग्य हुन्छ । रुखको साटो गाँजाबाट कागज बनाउने हो भने बनको संरक्षण गर्न सकिन्छ ।
गाँजाको विरुवाको कुन भाग चाहि बढी प्रयोग हुन्छ ?
गाँजाको बिरुवाको जरादेखि पातसम्म सबैको उत्तिकै महत्व छ । यसलाई कानुनी मान्यता दिने र व्यवसायिक रुपमा खेती गर्ने विषयमा भने नेपाल सरकारले तत्काल वातावरण बनाउनु पर्छ । नत्र हामी पछि पर्नेछौं ।
प्रतिक्रिया दिनुहोस्