१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फेवातालको किनारबाट सराङकोट केबलकारमा सरर


845
Shares

पोखरा । पोखराको पर्यटकीय स्थल फेवाताल किनारबाट सराङकोट डाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकारले व्यावसायिक सञ्चालनमा सुरु गरिएको छ ।

अन्नपूर्ण केबुलकार प्रालिले निर्माण गरेको केबुलकार २ हजार २६५ मिटर लामो रहेको छ । आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यवसाय सञ्चालनमा आएको ‘अन्नपूर्ण केबुलकार’का निर्देशक तिर्थ त्रिपाठीले जानकारी दिनुभयो ।

स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको उहाँको भनाइ छ । केबुलकार सञ्चालनमा आएसँगै फेवातालको किनारबाट झण्डै ९ मिनेटमा सराङकोट पुग्न सकिने कम्पनीको दाबी छ ।

अहिले फेवातालबाट सराङकोट जान गाडीमा करिब ३५ देखि ४५ मिनेट समय लाग्छ । केबुलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८ सय २४ मिटरमा रहेकामा माथिल्लो स्टेशन १ हजार ४ सय ६५ मिटर रहेको छ ।

प्राकृतिक सुन्दरताले भरिएको पोखरामा केबुलकार पर्यटकको नयाँ गन्तव्य र रोजाइ हुने पर्यटन व्यवासायीको भनाइ छ ।