
काठमाडौं । अटो मोबाइल्स् एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुव थापाले मौद्रिक नीति मार्फत अटो मोबाइल क्षेत्रलाई अनुत्पादक क्षेत्रमा राखेर सधैँ पेल्ने नीति स्वीकार गर्न नसकिने बताउनुभएको छ ।
अध्यक्ष थापाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षामा अटो व्यवसायलाई अनुत्पादक भित्र राखेर सधैँ पेल्ने नीति नाडाले स्वीकार गर्न नसक्ने बताउनुभयो । सरकारले एउटा क्षेत्रमा सुधार गर्नुपर्ने भए पनि अटो मोबाइल क्षेत्रको नाम उल्लेख नगरी कडाइ गर्न खोजेको उहाँको आरोप छ ।
अध्यक्ष थापाले एलसी मार्जिनमा व्याजको व्यवस्था गर्न तथा कर्जाको ब्याज घटाउन माग गरिए पनि उल्टो कर्जाको ब्याज बढ्ने गरी मौद्रिक नीतिको समीक्षा भएको बताउनुभयो । मौद्रिक नीतिको समीक्षाले सबै क्षेत्रमा असर पर्ने देखिएको अध्यक्ष थापाको भनाइ छ ।
अटो क्षेत्रलाई अनुत्पादक क्षेत्रबाट हटाएर उत्पादक क्षेत्रमा नीतिमा राख्न बारम्बार माग गरिरहे पनि सरकारले अहिलेसम्म नसुनेको उहाँले बताउनुभयो । अध्यक्ष थापाले अटो क्षेत्रलाई सरकारले अनुत्पादक क्षेत्रमा राखेर निरुत्साहित गर्न खोज्यो भने समग्र मुलुकको अर्थतन्त्रको जीवनचक्रमा नै असर पार्ने चेतावनी दिनुभयो ।
अध्यक्ष थापाले बजारमा तरलताको अभावको कारण गाडीको माग भए पनि आयात गर्न नसकिएको पनि बताउनु भयो । तरलता अभावका कारण बिक्रि भएका गाडीको भुक्तानीमा समेत समस्या भएको पनि उहाँले गुनासो गर्नुभयो ।
आयात कडाइ गर्दा सरकारको राजश्व घट्न गई कर्मचारीहरूलाई तलब खुवाउन पनि नसक्ने उहाँले चेतावनी दिनुभयो । बिहीबार राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै कर्जा लगानीमा थप कडाइ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्