६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बेनी हाँडेभीर बगरफाँट बरङ्जा सडक कालोपत्रे हुँदै


169
Shares

म्याग्दी । म्याग्दीमा ट्याक खुलेको १६ वर्ष पछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जादेखि अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडक कालोपत्रे हुने भएको छ ।

जिसी निर्माण सेवाले स्तरोउन्नतिको जिम्मा लिएको सो सडकको वि.सं २०६३ मा ट्याक मात्रै खोलिएकोथियो । अहिले हाँडेभिरदेखि बगरफाँटको बुद्ध एकेडेमीसम्म करिब दुई किलोमिटर क्षेत्रमा सडक कालोपत्र गर्नका लागि बाटो विस्तार र स्तरोउन्नतिको काम पनि सकिएर कालोपत्रेको तयारी गरिएको छ ।

सडकको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीले ४८ लाख ५० हजार र स्थानीय जनसहभागिताबाट ४ लाख ९५ हजारगरि कुल ५३ लाखको लागतमा स्तरोउन्नति गरिएको हो ।

सडक फराकिलो बनाउने, जमिनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ट्याक खोल्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभएको छ ।

उहाँका अनुसार सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६सय ५० मिटर र थामडाँडामा सय मिटर नयाँ ट्याक खोलिएको बताउनुभयो । सडकको मापदण्डअनुसार नै निर्माण भएको यो सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा साबित हुने स्थानीयवासीले बताएका छन् ।

यो सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले बताउनुभएको छ ।

सडक कोलोपत्रे भएपछि सो क्षेत्रका करिब २० हजार जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने स्थानीय समाजसेवी तीर्थबहादुर गुरुङको तर्क छ ।