१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मच्छिन्द्रको अपराजित यात्रा, ‘एल्लाे कार्ड’ दिएका रेफ्रिसँग जुध्न जाँदा जीवनलाई ‘रेड कार्ड’


1.287k
Shares

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले आफ्नो अपराजित यात्रा कायम गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टार क्बलाई १–० गोलअन्तरले पराजित गर्दै मच्छिन्द्रले अपराजित यात्रा कायम गरेको हो । मच्छिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले पेनाल्टीमार्फत गोल गरे ।

खेलको ९३औं मिनेटमा थ्रीस्टारका जीवन गुरुङले मच्छिन्द्र अभिषेक गुरुङमाथि डिबक्सभित्रै फल गरेपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो ।

पेनाल्टी दिएपछि रेफ्रिसँग बादविवाद गर्न गएका जीवनलाई रेफ्रिले पहेँलो कार्ड देखाएका थिए । तर, त्यसपछि पनि जीवन चुप रहेनन् । अझ रेफ्रिसँग आँखा जुधाएर धकेल्न खोजे । त्यसपछि भने रेफ्रि प्रकाशनाथ श्रेष्ठले उनलाई रातो कार्ड देखाएका थिए ।

जितसँगै च्याम्पियन बनिसकेको मच्छिन्द्रले १२ खेलबाट ३२ अंक बनाएको छ भने समान १२ खेल खेलेको थ्रीस्टार १८ अंकमा सीमित भएको छ । आजको हारसँगै थ्रीस्टारले लिगमा दोस्रो हुने अवसर पनि गुमाउने देखिएको छ ।