
काठमाडौं, फागुन १५ । उप्रधानमन्त्री इश्वर पोखरेलले नेपाल ट्रष्टको जग्गा लिजमा दिनेहरुमा पूर्व गृहमन्त्री जनार्दन शर्मा पनि रहेको ब्यहोराको श्वेतपत्र सार्वजनिक गरेपछि शर्मा आक्रोशित बनेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री पोखरेलले श्वेतपत्रको नाममा झूठा कुरा लेखिएर अश्वेतपत्र जारी गरेको आरोप पनि लगाए । उनले सरकारलाई समर्थन गर्दागर्दै आफुविरुद्ध किन यस्तो अन्यायपूर्ण काम गरियो जवाफ दिन प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री पोखरेलसँग आग्रह गरे ।
श्वेतपत्र भनेको त सत्य तथ्य ल्याउन हुनुपर्नेमा झुठको संग्रह बनेको भन्दै उनले जग्गा दिनेको नाममा आफुलाई मुछेकोमा आपत्ति जनाए । आफुलाई मुछिएको कारण खोज्न ट्रष्टको कार्यालय जाँदा माइन्युट पनि हेर्न नदिइएको उनले बताए । कर्मचारीहरूले तपाईको पालामा कुनै निर्णय नभएको जानकारी दिएको, मुख्यसचिवसँग सोध्दा पनि कुनै निर्णय भएको थिएन भनेकाले यो झुठको संग्रह श्वेत पत्र हो कि अश्वेत पत्र हो ? भन्दै उनले प्रश्न गरे ।
‘आफु मन्त्री नै नभएको समयमा गरिएको निर्णयमा मेरो नाम किन राखियो ?’ शर्माले भने, ‘लेख्नुपर्ने नाम किन लेखिएन । यो अश्वेतपत्र किन लेखियो ? भ्रष्टाचार हुन हुँदैन भनेर दुईचार कुरा बोलेको छु त्यसैले हुनुपर्छ ।’ शर्माले थपे, ‘मलाई तर्साउन खोजिएको हो ? मलाई आत्मसमर्पण गराउन खोजेको हो ? असत्यको अगाडि कहिल्यै पनि आत्मसमर्पण गर्दिनँ । म तर्सिन पनि तर्सिंदैन ।’
सरकारले आफूलाई ढाँटे पनि जनतालाई नसक्ने भन्दै विश्वासको संकट परेको पनि संसदलाई जानकारी गराए । आफ्नै पार्टीको सरकारलाई समर्थन गर्दागर्दै आफुमाथि अन्याय गरिएको उनको भनाइ थियो ।
यसअघि बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नाम मुछिएको भन्दै पोखरेलले सार्वजनिक गरेको श्वेतपत्रप्रति आपत्ति जनाएका थिए । पोखरेलले ताहाचलस्थित ट्रष्टको जग्गा लिजमा दिने निर्णय देउवा प्रधानमन्त्री र शर्मा गृहमन्त्री हुँदा गरिएको श्वेतपत्रमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्