
पोखरा, फागुन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन पर्यटनमन्त्री स्व.रवीन्द्र अधिकारीलाई बहुआयामिक व्यक्तित्वको संज्ञा दिएका छन् ।
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले अधिकारी निधनको १ वर्ष पुगेको पुण्य स्मृतिमा बिहिबार पोखरामा गरेको कार्यक्रमलाई काठमाडौंबाट भिडियोमार्फत् सम्बोधन गर्दै उनले स्व.अधिकारीबाट अग्रगमन काममा अगाडि बढ्नुपर्छ भन्ने शिक्षा लिनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले स्व.अधिकारीले मन्त्रीको हिसाबमा छोटो समयमै उल्लेखनीय कार्य गरेको स्मरण गरे । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीभित्रको अन्तर कलहले नेकपालाई हल्लाउन नसक्ने बताउए ।
उनले पार्टीभित्र ठूलो भूकम्प गएपनि घर भत्किँदैन, हल्लिएको मात्र हो भन्दै नेताहरुबीच एकता जरुरी रहेकोमा जोड दिए । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, प्रतिष्ठान अध्यक्ष एवं अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलगायतले सम्बोधन गर्दै स्व.अधिकारीको योगदानको स्मरण गरेका थिए ।
यसैबीच, आजै स्व.अधिकारीको पोखरा–१८, जामुनाबोटमा निर्मित पूर्ण कदको शालिकको मुख्यमन्त्री गुरुङले अनावरण गरे ।
गत वर्षको फागुन १५ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङको पाथीभरामा दुर्घटना हुंदा उनीसहित ७ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्