
तेह्रथुम । बजारको समस्या नभएपछि धनकुटाका किसान उखुखेतीतर्फ आकर्षित हुँदै आएका छन् ।
व्यवसायीक रुपमा उखुखेती गरेका धनकुटाका किसानले वार्षिक लाखौं कमाउँन थालेपछि अन्य बाली मासेर उखु लगाएका छन् ।
धनकुटाको साँगुरीगढी गाउँपालिका ७ उखुडाँडाका किसानहरु व्यवसायीक उखुखेती गरेर वार्षिक लाखौ रुपैया आम्दानी गर्दै आएका छन । तमोर नदीको बगरमा रहेको उखुडाँडामा समतल भूभाग र सिँचाइको अभाव नभएकाले पनि यहाँका किसानले उखुखेतीवाट मनग्य आम्दानी लिन सकेका हुन् ।
पुर्खौदेखि उखुखेती गर्दै आइरहेका उखुडाँडाका तीर्थबहादुर लिम्वुले उखु विक्रीबाट एकै सिजनमा कम्तिमा दुई लाख रुपैया आम्दानी गर्दै आउनुभएको छ । २१ रोपनी क्षेत्रफलमा लिम्बुले गेमर र पानमारे प्रजातिका उखु लगाउनुभएको हो ।
अन्य खेती भन्दा बढी आम्दानी दिने र बजारको सहज पहुँच भएकाले उखुखेती सजिलो भएको उहाँको भनाइ छ । लिम्बुले उखु खेतीवाट धेरै आम्दानी हुने भएपछि धान खेती मासेर उखुखेती विस्तार गर्नुभएको हो ।
उखुखेतीबाट नगदी आम्दानी हुनेभएपछि यहाँका किसानहरुले निर्वाहमुखी खाद्यवालीको खेती छाडेर व्यवसायिक रूपमै उखु खेती गर्न थालेका हुन् । उखुडाँडाका २५ घर किसान व्यवसायिक उखुखेतीमा संलग्न छन ।
कोशी राजमार्गको निर्माण भएसँगै यस क्षेत्रमा व्यसवसायीक उखुखेती विस्तार भएको हो। यहाँ उखु विक्रीबाट वार्षिक १ करोड रुपैया भित्रिन्छ। सरकारी निकायको सहयोग र सल्लाह बिनानै आफ्नै मेहनतबाट यहाँका किसानले मनग्य आम्दानी लिन सफल भएका छन।
सडक मार्गवाट नजिक रहेकाले ढुवानीमा खासै खर्च नपर्ने र किसानले उत्पादन गरेको उखु स्थानीय बजारमा नै खपत हुने गरेको किसान प्रकाश बस्नेतले बताउनुभयो ।
किसानले उत्पादन गरेको उखुकोशी राजमार्ग अन्र्तगत धरान धनकुटा खण्डको मुलघाटमा सवारी साधनवाट ओहोरदोहोर गर्ने यात्रुहरु नै मुख्य ग्राहक हुन । किसानहरुले उखुप्रति लाक्रा २५ देखि ३५ रुपैयाँसम्ममा व्यापारीलाई र व्यापारीले प्रतिलाक्रा ५० देखि ७० रुपैयाँसम्ममा ग्राहकलाई बिक्री गर्दै आएका छन् ।
बढ्दै गएको उखुखेतीको अझ विस्तारको लागि यहाँका किसानलाई प्रविधिको ज्ञान र आधुनिक प्रविधिबाट सक्खर उत्पादनमा जोडदिने हो भने यस क्षेत्रमा व्यवसायीक उखुखेतीमा टेवा पुग्नेथियो ।
प्रतिक्रिया दिनुहोस्