१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पशुपति धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउछौं : मन्त्री आले


117
Shares

काठमाडौं, फागुन १० । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताउनुभएको छ ।

मंगलबार महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समूहलाई हटाउने सरकारको निर्णयमा सो समूहले लिएर आएको अल्पकालीन आदेश समेत अदालतले खारेज गरिसकेकाले छिटोभन्दा छिटो धर्मशाला फिर्ता ल्याइने बताउनुभएको हो ।

विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको भन्दै उहाँले अब त्यस्तो कदम सह्य नहुने बताउनुभयो । मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरुको कहिल्यै कल्याण नहुने बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषको अध्यक्ष समेत रहनुभएका मन्त्री आलेले यस वर्षको महाशिवरात्री पर्व विगतका वर्षहरुभन्दा भव्य र सभ्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो । महाशिवरात्री पर्वलाई भव्य र सभ्य बनाउन कुनैपनि कसर बाँकी नराख्न उहाँले निर्देशन समेत दिनुभयो । धर्मावलम्बीहरुलाई सहज रुपमा पानिको व्यवस्था, बत्तिको व्यवस्था मिलाउनेदेखि सरसफाइमा विशेष ध्यान दिन मन्त्री आलेले निर्देशन दिनुभयो ।

यस वर्षको महाशिवरात्री पर्व फागुन १७ गते मंगलबारका दिन परेको छ । यस वर्ष सो दिन पशुपति क्षेत्रमा १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले बताउनुभयो । पर्वलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा कोषका अध्यक्ष प्रेमबहादुर आलेको अध्यक्षतामा मुल समारोह समिति र विभिन्न १० वटा उपसमिति गठन भएको उहाँले जानकारी दिनुभयो । मेलामा आउने दर्शनार्थीहरुको सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी परिचालन गरिने पनि उहाँले उल्लेख गर्नुभयो । दर्शनार्थीलाई सहजताका लागि डिजिटल बत्तिको व्यवस्था गरिने तथा मन्दिर क्षेत्रमा आउनुहुने साधु, सन्तहरुको भोजन र आवासका लागि कोष सचेत रहेको उहाँको भनाई छ ।

सदस्य सचिव थापाले सो दिन पनि विद्युत शवदाह क्षेत्र र क्रियापुत्री क्षेत्र सञ्चालन हुने बताउनुभयो । महाशिवरात्री पर्वका दिन मदिरा तथा लागुपद्धार्थ मुक्त क्षेत्र बनाउनका लागि विशेष निगरानी र कडाइ गरिने पनि उहाँले बताउनुभयो ।