
कैलाली । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई चारमुखे भएको आरोप लगाउनुभएको छ ।
प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले एमसीसी पारित गर्नेमा प्रचण्ड र माधव नेपालबीच देखिएको भूमिकाले जनतामा भ्रम सिर्जना भएको बताउनुभयो ।
एमसीसीका मामिलामा प्रचण्डले गरेको अपरिपक्व कदमका कारण समस्या भएका समेत बताउनुभयो । उहाँले एमसीसीको नाममा अहिले मुलुकमा एक किसिमको द्वन्द्व बनाउन खोजिएको आरोप लगाउनुभयो ।
‘पहिला–पहिला भगवान ब्रम्हाका चार मुख हुन्छन् भन्ने सुनेका थियौं,’ उहाँले भन्नुभयो, ‘एमसीसीको सन्दर्भमा सम्बन्धमा प्रचण्ड र नेपालका चार–चार मुख देखियो ।’
मुलुकलाई भिडन्त र द्वन्द्वमा लैजाने, अन्तर्राष्ट्रिय शक्तिको खेल मैदान बनाउने परिस्थिति बनेको भन्दै उहाँले यसको जिम्मेवारी अहिलेको गठबन्धने लिनुपर्ने बताउनुभयो । ‘आफ्ना कार्यकर्तालाई जुन रूपमा सडकमा पठाएर मुलुकमा द्वन्द्व सिर्जना भइरहेको छ’, उहाँले भन्नुभयो, ‘यसको जिम्मेवारी चारमुखे प्रचण्ड र नेपालले लिनुपर्छ ।’
अहिलेको गठबन्धन मुलुकलाई आवश्यक नरहेको समेत बताउँदै नेता बस्नेतले अहिलेको गठबन्धन घाँडो भएको दाबी गर्नुभयो । उहाँले अबको एक वर्षभित्र निर्वाचनमा जानुपर्ने बाध्यता रहेको बताउँदै निर्वाचनलाई सुल्टो दिशामा हिडाउन आफूले चाहेको बताउनुभयो ।
यस्तै नेता बस्नेतले ओली बालकोटमा भए पनि बालुवाटारमा भए पनि राजनीति उहाकै वरिपरि घुमिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्