१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ललितपुर मेयर कप टी-२० क्रिकेटमा एपीएफको विजयी सुरुआत


91
Shares

काठमाडौं, फागुन १० । आयोजकको टोली ललितपुर मेयर्स–११ माथि ५८ रनको फराकिलो जित निकाल्दै सुदुरपश्चिम प्रदेशले मंगलबारबाट सुरु भएको ललिपुर मेयर महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा मंगलबार भएको उद्घाटन खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गर्दै सुदुरपश्चिमले विजयी सुरुआत गरेको हो । १ सय ४४ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ८५ रन रन जोड्न सक्यो ।

मेयर्स–११ का लागि सरस्वती चौधरीले सर्वाधिक २६ रन जोड्दा साना प्रविनले १५, कञ्चन श्रेष्ठले १० रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकको स्कारे गर्न सकेनन् । किफायती बलिङ गरेको सुदुरपश्चिमका लागि लक्ष्मी साउदले सर्वाधिक ३ विकेट निकाल्दा कविता कुवँरले दुई विकेट लिईन । ४ ओभर बलिङ गरेकी कविताले एक मेडन ओभर फाल्दै मात्र ५ रन खर्चिएकी थिइन् । यस्तै इश्वरी विष्ट र सम्झना खड्काले एक–एक विकेट आफ्नो नाममा लेखाए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४३ रन जोडेको थियो । सुदुरपश्चिमका लागि कप्तान रितु कनौजियाले सर्वाधिक ४२ रनको योगदान गरिन । रितुले २९ बल खेल्दा ६ चौका प्रहार गरेकी थिइन् । यस्तै रेवती ढकालले २९, विन्दु रावलले २८ तथा डोली भट्टले २५ रन जोडे । सुदुरपश्चिमको पाँच विकेट लिने क्रममा मेयर्स–११ की खुसी डंगोलले सर्वाधिक २ विकेट हात निकाल्दा अनुराधा चौधरी, आरती विडारी र अस्मीना कर्मचार्यले एक–एक विकेट लिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार नै भएको अर्को खेलमा विभागीय टोली एपिएफ क्लबले राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्र रहेको टोली प्र्रदेश नं १ लाई ६ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ । प्रदेश १ ले दिएको ५८ रनको झिनो लक्ष्य एपीएफले ११.४ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्‍यो । एपीएफको जीतमा ज्योती पाण्डेले सर्वाधिक २३ रन जोड्दा रोमा थापा १५ तथा ममता चौधरी २ रनमा अविजित रहे । राजमती ऐरी ४ तथा कप्तान सिता राना मगर १ रनमा पवेलियन फर्किएका थिए । बलिङ तर्फ प्रदेश १ का लागि सवनम राईले २ तथा हेरमायी रोय र कप्तान रुविना क्षेत्रीले एक–एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५७ रन मात्र बनाएको थियो । प्रदेश १ का लागि सवनम राईले सर्वाधिक १६ रनको पारी खेल्दा अन्यले सम्झनलायक प्रदर्शन गरेनन् ।

प्रदेश नं १ लाई सस्तैमा समेट्ने क्रममा एपीएफकी करुणा भण्डारीले ३ विकेट हात पारिन । ४ ओभर बलिङ गर्दा करुणाले ३ मेडन ओभर राख्दै मात्र ५ रन खर्चिएकी थिइन् । राजमती ऐरीले २ विकेट लिदा रेखा रावल र सुमन विष्टले एक–एक विकेट आफ्नो नाममा लेखाए ।

प्रतियोगितामा बुधबार पनि दुई खेल हुने छन् । दिनको पहिलो खेल एपिएफ र सुदुरपश्चिम प्रदेश तथा दिनको दोस्रो खेल आयोजकको टोली लतिपुर मेयर्स–११ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।