१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमसीसी पारित गर्न सहयोग गर्नुस्- देउवा, हाम्रो माग पूरा गर्नुस्- ओली


455
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सदनबाट अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्नुभएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पारित गर्न असहयोग गरेको भन्दै एमसीसी पारित गर्न एमालेको सहयोग मागेको एमाले नेता रिजालले बताउनुभयो ।

जवाफमा अध्यक्ष ओलीले एमाले छाडेर गएका माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेमा सहयोग गर्न सकिने संकेत देखाएका छन् ।

विगत छ महिनादेखि आफ्ना माग राखेर सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरू पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने विषयमा स्पष्ट पारेको रिजालको भनाइ छ ।

भेटमा अध्यक्ष ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहेका थिए ।