१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमसीसीका कारण नेताहरुको दौडधूप जारी


208
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुग्नुभएको छ ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा बुधबार दाहालनिवास खुमलटार पुग्नुभएको हो ।

देउवाले माओवादीसँग आज बुधबार निर्णायक वार्ता गर्नसक्ने अनुमान गरिएको छ । एमसीसीमा सहयोग नगरे एमालेसँग मिलेर सभामुख फेर्ने र एमसीसी पास गर्नसक्ने आशंका पनि गर्न थालिएको छ ।

यसअघि नै प्रचण्डले आफ्ना मन्त्रीहरुलाई जस्तोसुकै परिस्थिति आउनसक्ने भएकाले तयारी भएर बस्ने बताइसकेको अवस्थामा माओवादी केन्द्रले सरकार छाड्न सक्ने अर्काथरीको विश्लेषण छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिरहेको बेला प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्नका लागि दौडधूप बढाउनुभएको छ । उहाँले मंगलबार बेलुका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।

भेटमा देउवाले ओलीलाई एमसीसीमा सघाउँन आग्रह समेत गर्नुभएकाे थियाे । जवाफमा ओलीले पहिले आफूहरूको माग पूरा गर्न भन्नुभएकाे थियाे । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएकोछ ।

एमसीसी सम्झौता पारित गर्ने समय सीमा नजिकिंदै गर्दा सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संवाद घनिभूत भएकोछ ।

मंगलबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच वार्ता भएको १२ घण्टा नवित्दै गृहमन्त्री बालकृष्ण खाँड ओलीलाई भेट्न भक्तपुर पुग्नुभएको छ । गृहमन्त्री खाँड बुधबार बिहानै ओलीलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

एमाले अध्यक्ष ओलीले एमसीसी विरोधी प्रदर्शनका क्रममा प्रहरीमाथि भएको आक्रमणमा पनि गृहमन्त्री खाँडको आलोचना गर्नुभएको थियो ।