
काठमाडौं, फागुन ११ । नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिनुभयो ।
सचेतक भुसालले बिहीबारको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको बताउनुभयो ।
हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका ६३ जना सांसद छन् । तीमध्ये दुईजना निलम्बित छन् । सांसद प्रदीप गिरी उपचारका क्रममा भारतमा हुनुहुन्छ । सत्तारुढ प्रमुख दल कांग्रेस संसदमा दोस्रो ठूलो शक्तिको रुपमा रहेको छ ।
संसदमा सबैभन्दा धेरै एमालेका ९७ जना सांसद छन् । एमालेले एमसीसीको सम्बन्धमा संसदमा पक्ष वा विपक्षमा उभिनेबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन । एमालेले आफ्नो माग सम्बोधन गरेमात्रै एमसीसीको विषयमा निर्णय गर्ने अडान राखेको छ ।
प्रतिक्रिया दिनुहोस्