
राजनीति सबै नीतिहरूको राजा हो । त्यसैले राज्य सु-सञ्चालनको नीति समेत राजनीति नै हो । मुलुक चलाउनका लागि सामयिक विधि, प्रविधि, सिप, अध्ययन र कौशल भएका व्यक्तिहरू नै राजनीतिमा आउने हो । नेपालको अवस्था हेर्दा त्यो भएको देखिँदैन । यहीँनेर हाम्रो राजनीति चुकेको हो ।
‘नीतिहरूको राजा राजनीति हो’ भनेर हिजो राजनीतिक शास्त्रका विद्यार्थीहरू पढ्थे । आज यही मान्यता राखेर पढिरहेका छन् । भविष्यमा समेत यही मान्यता राखेर पढिरहने छन् । उदेक लाग्छ – गरिब र अल्पविकसित देशमा भैरहेको सत्ताका लागि मात्र गरिने राजनीति र स्वार्थप्रेरित राजनीतिलाई ती देशका पठित र अग्रगामी सोच बोकेका नागरिकहरूले समेत ‘लाजनीति’ भन्न अब कुनै आइतबार पर्खनु परोइन ।
राजनीतिक पार्टीका नेता र कार्यकर्ताहरू हाकाहाकी भन्छन् – ‘जोगी बन्नका लागि राजनीति गरिएको होइन ।’ राजनीति गर्नेहरूले यसरी भनेको सुहाउँछ/सुहाउँदैन या कुन कोण–प्रतिकोणबाट भन्दा असल साउण्डले सुनिन्छ त्यो समेत ख्याल विचार नगरी नेता र कार्यकर्ताहरूले देश, भुइँ जनता र अग्रगामी विकासलाई केन्द्रमा राखेर गरिने राजनीतिको समूल अन्त्य हुँदै गएकाले पनि होला अहिले अधिकांश पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूले स्वार्थको राजनीतिलाई बढावा दिइरहेका छन् । सायद् त्यसैलाई ‘लाजनीति’ भनिएको होला ?
एउटा श्याम व्यङ्ग्यले भन्छ – वर्तमानको राजनीति यसरी थेत्तरो भयो कि नेता जति सबै ‘लेता’ र लिडर जति सबै ‘डिलर’ भएकैले राजनीति अनि ‘लाजनीति भएको हो । वर्तमान अवस्थाको सत्ता छिनाझप्टीको राजनीतिक रबैयालाई हेर्दा त्यो सोह्रै आना ठिक जाँच्दछ ।
विश्वभर यतिखेर कोलाहल व्याप्त छ । धनी राष्ट्रहरू, धनी राष्ट्रहरूकै बीचमा मनोवैज्ञानिक समस्याले ग्रस्त देखिन्छन् । केही मसिहा राष्ट्रहरू गरिब राष्ट्रमा भएका प्राकृतिक स्रोतसाधन कुम्ल्याउने दृष्टिले अनेक थरी प्रपञ्च, रणनीति र सहयोगका पोका पुन्तुराहरू लिएर क्रमशः समस्याका बीउ छरिरहेछन् । अहिलेको समस्याको चुरै यही हो ।
कवि तथा ज्योतिष उदय निरौलाका शब्द पापट लिएर भन्ने हो भने – ‘मैले नयाँ वर्ष २०७८ को सुरुमा लेखेको थिएँ, ग्रहहरू युद्धमा थिए र यही वर्षबाट विश्व युद्धको सङ्घारमा छौं हामी भनेर । नभन्दै रसियाले युक्रेनबाट युद्ध आरम्भ गरेको छ ।
दक्षिण एसिया र पूरै विश्व यतिखेर त्राहीमाम बनेको छ । वर्तमान गठबन्धनको सरकारले २०७९ बैशाख ३० गतेलाई स्थानीय तहको चुनाव हुने मिति तोकेको छ ।
यो एक कार्यकाल मुलुक भरिका ७५३ तहमध्ये धेरै तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूले केन्द्रले पठाएको बजेटमा दाइँ गरेका छन् । आफूले किनेको निजी गाडी पालिकालाई महिनाको २ लाख भाडामा लगाएर वर्षको चौबीस लाख र पाँच वर्षको सजिलैसँग एउटा गाडीबाट १ करोड २० लाख हजम गरेका समाचारहरू समेत पढ्नमा आएका छन् ।
यसो भनेर सबै पालिकाहरूलाई एउटै डालोमा हालेर मुछ्न हुँदैन । देशैभरिका पालिकाहरूमा उत्कृष्ठ भएर काम गर्नेहरू पनि थुप्रै रहेका छन् । रुपन्देहीको मणिग्राम नगरपालिका र झापाको कन्काई नगरपालिकाहरूले देशैभरिमा उदाहरणीय काम गरेका छन् ।
भन्न खोजिएको चुरो कुरो जस–जसले उत्पादनमा लगानी गरे, कृषिमा कृषकहरूलाई अनुदान दिए र निकासी बढाउने काम गरे ती पालिकाहरू नमुना मात्र बनेनन् त्यहाँ नेतृत्व लिने अहिलेका जनप्रतिनिधिहरू नै दोहोरिने सम्भावना समेत धेरै रहेको छ ।
रह्यो स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूका राजनीतिक मिलीभगत शैलीका अन्तर्यको चुरो कुरो । नयाँ संविधान आएर राज्यको पुनर्संरचना भएपछि मुलुकभर रहेका ७५३ वटै स्थानीय तहले पहिलो कार्यकालमा स्वास्थ्य, शिक्षा, सञ्चार र यातायातमा आधारभूत काम गरेका भए अहिले मुलुकले स्थानीय तहको दोस्रो कार्यकालको चुनाव गराउँदै गर्दा नागरिकहरूमा एक प्रकारको उत्साह चुलिने थियो ।
अबको यो दोस्रो कार्यकालमा व्यवस्थापन क्षमताका मेनेजरियल टाइपका नेताहरूलाई चुन्न नागरिकहरू आफैँ उद्यत्त हुन्थे । देशको व्यापार घाटालाई कम गर्नका लागि जसरी भएपनि कूल गार्हस्थ उत्पादनमा वृद्धि गर्नै पर्दछ । त्यसका लागि पालिका स्तरबाट ठूल्ठूला उद्योगधन्दाहरू एकैचोटी सञ्चालन गर्न नसकिएला, तर स–साना कृषिमा आधारित, ग्रामीण पर्यटनमा आधारित र निर्यात बढाउने खालका कृषि उपजहरू पर्याप्त मात्रामा बढाउन सकिने स्थिति नेपालको रहेको छ ।
यो कुरालाई अब चुनिएर आउने स्थानीय जन प्रतिनिधिहरूले नजरअन्दाज गर्नु हुँदैन । देश बन्ने भन्ने कुरा एकैपटकमा हुँदैन । पहिलोपटकका जनप्रतिनिधिहरू पनि सकारात्मक कार्यका साथ विदा हुन लागिरहेका छन् । जस जसले शिक्षा, खानेपानी, स्वास्थ्य, पूर्वाधार विकास, यातायात र कृषिमा लगानी गरेका छन् तिनीहरूको मिसन, भिजन र गोल राष्ट्रिय आवश्यकता र स्वार्थसँग मेल खान जान्छ ।
कोरोनाले हामीलाई हाम्रो बास्तविक धरातलको जानकारी गराइदियो । हामीले राज्यले गरेको लकडाउनका बेलामा स्वास्थ्य, शिक्षा, सञ्चार, यातायात र कृषिका बारेमा भलिभाँती जान्ने सुअवसरहरू पायौं । मुलुकको शैक्षिक जगत्ले २/२ शैक्षिक सत्रको क्षति भोग्नु पर्यो ।
मुलुकमा एसईई लगायत कुनै पनि हाइस्कुल तहका परीक्षाहरू सम्पन्न भएनन् । यसले आज हाइस्कुल अध्ययन गर्ने जनशक्तिमा कस्तो असर पारेको छ भन्ने कुरा अहिल्यै थाहा नहुन सक्छ । यसको दूरगामी असर त ६/१० वर्षमा देखिन्छ । देश र जनतालाई केन्द्र विन्दुमा राखेर गरिने राजनीतिको कहिल्यै अन्त्य हुँदैन । तर जुुन व्यक्ति वा पार्टीहरुले आफ्नो व्यक्तिगत वा पार्टीगत स्वार्थमा मात्र राजनीति गरिरहेको हुन्छ, त्यसले भने हरेक पाँच/पाँच वर्षमा सकसको उल्झनमा रुमल्लिनु पर्छ ।
वर्तमान विश्वमा पालिका, राज्य वा देश सञ्चालकहरु नै बोस या नेताबाट क्रमशः बद्लिएर अब व्यवस्थापकमा परिणत भैसकेका छन् । यस्तो बेलामा पुरातन शैलीमै राजनीति गर्नेहरुका दिन शनैःशनैः सकिएका हुन् ।
धर्म वा जातको पुच्छर पक्रेर गरिने बनियाँ गिरी शैलीको राजनीति अब तुरिँदै गएको हो । यो कुरा राजनीति गर्ने ठूला साना सबै खाले पार्टीमा हेक्का हुनु जरुरी भैसक्यो । यसो हेर्दा अब राजनीतिक पार्टीहरुको कार्यशैलीले गर्दा ती भविष्यमा ‘सच्चिने कि सिद्धिने ?’ भन्ने शैलीमै अघि बढेको छ भन्दा कुनै अर्घेलो गरेको ठहर्दैन ।
प्रतिक्रिया दिनुहोस्