
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् माओवादी नेता देवेन्द्र पौडेलले सहिदहरू परिवर्तनकारी आन्दोलनको इतिहास भएको बताउनुभएकाे छ ।
शनिबारबाट सुरु भएको नेकपा माओवादीको सहित सप्ताह कार्यक्रम अन्तर्गत काठमाडाैंकाे गोकणेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले देशमा भएका विभिन्न आन्दोलनमा सहिदहरूले जीवन समर्पण नगरेको भए गणतन्त्र सम्भव नभएको बताउनुभयाे ।
मन्त्री पाैडेलले जनयुद्धले स्थापित गरेका मुद्दाहरू कार्यान्वयनका लागि निरन्तर लडिरहने बताउनुभयाे । अल्पसंख्यक, उत्पीडित र जातिय विभेद अन्त्यका लागि माओवादीले जनयुद्ध गर्नुपरेको भन्दै उनले राज्यले विभेदकारी व्यवहार गर्न नहुने धारणा व्यक्त गर्नुभयाे ।
‘सहिदहरू आस्थाका धरोहर हुन्,’ उहाँले भन्नुभयाे, ‘राजनीितक पार्टी, विचार वा सिद्धान्तले सहिदहरूलाई विभक्त गर्न मिल्दैन, जुनसुकै आन्दोलनमा सहिद भए पनि सहिदहरूले देशकै लागि जीवन समर्पित गरेका हुन् ।’
नेता पौडेलले जनयुद्धमा सहिद भएकाहरूलाई आतकंकारी आन्दोलनको रूपमा परिभाषित गरेर अपमानित गर्न खोजिएको आरोप लगाउनुभयाे । सहिद र सहिद परिवारले गरेको त्याग उत्सर्गकै कारण राजतन्त्रको अन्त्य गरी मुलुक सघींय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको उहाँकाे भनाइ थियाे ।
हाल नेपालका दलहरूको राजनीतिक अधिकार प्राप्तिका लागि पनि जनयुद्ध कोशेढुंगा सावित भएको भन्दै उहाँले सबैखाले सहिद र उनका परिवारलाई समान व्यवहार गर्न आग्रह गर्नुभयाे ।
फरक प्रसङ्गमा मन्त्री पाैडेलले देशको सार्वभौम अधिकार देशले नै निर्णय गर्नुपर्नेमा जाेड दिँदै यथास्थितिमा कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने धारणा व्यक्त गर्नुभयाे ।
उहाँले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियता भन्दा ठूलो एमसीसी हुनै नसक्ने जिकिर गर्नुभयाे ।
प्रतिक्रिया दिनुहोस्