
काठमाडौं । सत्तारूढ गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) अन्ततः वैकल्पिक विधिबाट एमसीसी पारित गर्न तत्पर भएका छन्। सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न तत्पर भएको स्रोतको दाबी छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा, माओवादी केन्द्रका नेता शक्ति बस्नेत र अधिवक्ता गोविन्द बन्दीको टोलीले एमसीसीबारे व्याख्यात्मक टिप्पणीको ड्राफ्ट तयार पारिसकेको छ। सो विषयमा राति अबेरसम्म प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरू छलफलमा जुटेका थिए।
देउवासँगको सो विषयमा कुराकानीपछि शनिबार राति नै खुमलटारमा दाहाल, नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो। देउवालाई भेट्नुअघि दाहाल र नेपालले सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटघाट गरी गठबन्धन नटुटाउने र वैकल्पिक विधिमार्फत एमसीसी पारित गर्ने विषयमा छलफल गरेका थिए।
प्रधानमन्त्री देउवाले एमालेसँग निरन्तर संवाद गरेपछि झस्केका दाहाल र नेपालले गठबन्धनलाई कायम राख्ने विषयमा मात्रै जोड दिएका थिए। माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, वर्षमान पुन, लीलामणि पोखरेल, देव गुरुङलगायत नेताहरू एमसीसी फेल गराउनुपर्ने पक्षमा छन्। यस्तै नेकपा एसभित्र झलनाथ खनाल एमसीसी पास गर्न नहुने पक्षमा उभिएका छन्।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्