
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय क्षेत्रलाई निष्पक्ष, छिटो, छरितो, पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन चुनौति रहेको बताउनु भएको छ ।
आइतबारबाट काठमाडौंमा सुरु भएको १५ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनमा प्रधानन्यायाधीश कार्कीले यस्तो न्यायपालिकामा सुशासनको विषय पेचिलो बनेर आइरहेको र न्यायिक सुशासनको प्रत्याभूतिबाट मात्रै न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्न सकिने बताउनुभयो । कार्कीले आम नागरिकले विश्वास गर्न सक्ने वातावरणको निर्माण र ठोस एवम् नतिजामूलक कार्यसम्पादन अहिलेको आवश्यक्ता रहेको बताउँदै सबै तहको अदालतमा हुने न्यायाधीशको नियुक्तिलाई योग्यता, क्षमता, इमान्दार, न्यायिक निष्ठा तथा उच्च नैतिक चरित्रमा आधारित बनाउनु पर्ने आवाजसमेत उठ्न थालेको बताउनुभयो ।
नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानून व्यवसायीहरुले आफ्नो ठाउँबाट व्यवसायिक मर्यादा कायम राख्नुको साथै न्यायपालिकाको समग्र सुधारका लागि प्रतिवद्धता जनाउनु पर्ने बताउनुभयो । उहाँले न्यायपालिकाको अहिलेको अवस्थालाई सुधार गर्न कायम मुकायम प्रधानन्यायाधीश कार्कीले प्रतिवद्धता जनाएकोमा खुशी प्रकट गर्नुभयो ।
महान्यायाधिवक्ता खम्मबहादुर खातीले पुराना ऐन, कानूनहरु संशोधन र अपडेट गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले कानूनसम्बन्धि विषय राज्यलाई दिन चाहनेहरुका लागि संविधान, ऐन, कानूनका विषयवस्तुहरुलाई पनि संशोधन र परिमार्जन गरी एउटा रोस्टर बनाएर सहजीकरण गर्नुपर्ने बताउनुभयो ।
वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले नेपाल बार एशोसिएशन राजनीतिक कार्यकर्ताले चलाउन नहुने बताउनुभयो । एशोसिएशनका पूर्व अध्यक्ष शेरबहादुर केसीले अब आउने बारको चुनावबाट जोश जाँगर भएको नेतृत्व आउनु पर्ने तर्क गनुृभयो । वरिष्ठ अधिवक्ता शम्भु थापाले भ्रष्टाचारको गुरुत्वाकर्षणले तानिएका वर्तमान प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणा कठघरामा रहेको र संसदमा राजनीतिक मत, भोटहरु बाझिने भन्दै बारले एउटा आदेश दिन आवश्यक रहेको बताउनुभयो ।
बार एशोसिएशनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले संविधानको शपथ लिने, संविधानलाई मिच्ने, संविधानलाई किच्ने काम गरेकै कारण न्यायपालिकाको दुर्दशा भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्