१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


हाइड्रोपावर आयोजनाप्रति स्थानीयको विरोध


481
Shares

काठमाडौं । निर्माण प्रक्रियामा रहेको ‘भोटेकोशी एक हाइड्रोपावर आयोजना’ प्रभावित क्षेत्रका वासिन्दा विरोधमा उत्रिएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीबजारमा निर्माण प्रक्रियामा रहेको आयोजनाले न्यूनतम् मापदण्ड पूरा नगरेको, सार्वजनिक सुनुवाई नगरेको र स्थानीयले पाउनुपर्ने न्युनतम् सेवासुविधाको सुनिश्चितता नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीय विरोधमा उत्रिएका हुन् ।

शैलुङ्ग पावर कम्पनीले निर्माण गर्न लागिरहेको ४० मेगावाटको उक्त आयोजनाले स्थानीयका मागलाई बेवास्ता गरेर ह्यूमपाइपसमेत राखिसकेको स्थानीयले बताएका छन् ।

आयोजना सरोकार समितिका संयोजक देवीबहादुर बुढाथोकीले सार्वजनिक सुनुवाई विना नै आयोजना सुरु गरेको, नियमअनुसार स्थानीयले पाउनुपर्ने स्वास्थ्य, शिक्षा, सडक लगायतका न्यूनतम् सुविधा र आयोजना प्रभावित बासिन्दाको मुआब्जा शुनिश्चितता नगरी एकलौटी ढंगले काम सुरु गरेपछि विरोधमा उत्रिनुपरेको बताउनुभयो ।

२०७२ सालको भूकम्पले पुरै भोटेकोशी गाउँपालिका रेड जोनमा परेको छ । आयोजना प्रभावित क्षेत्रमा ७ सय ५६ घरधुरी रहेका छन् । आयोजना क्षेत्रमै गाउँपालिकाको भवन,स्कुल लगायतका भौतिक पूर्वाधार पनि रहेका छन् ।

स्थानीय चन्द्रबहादुर प्रधानले स्थानीयको सरोकार सम्बोधन र भौगोलिक अवस्थालाई बेवास्ता गरि आयोजनाले काम अगाडी बढाएपछि उक्त क्षेत्रका बासिन्दा थप जोखिमा परेको बताउनुभयो । उहाँले स्थानीय बासिन्दाले पटक–पटक आग्रह गर्दा पनि राजनीतिक शक्तिको आडमा आयोजनाको काम अगाडी बढाएको टिप्पणी गर्नुभयो ।

शैलुङ्ग पावर कम्पनी विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको नाममा रहेको छ । यसैबीच, निर्माण सम्पन्न भएर विद्युत्त उत्पादन भएको २३ वर्ष वितिसक्दा पनि स्थानीयले पाउनुपर्ने सेवासुविधा पाउन नसकेको भन्दै माथिल्लो भोटेकोशी जलविद्युत्त आयोजना प्रभावित क्षेत्रका बासिन्दा पनि आन्दोलन गरिरहेका छन् ।

स्थानीय बासिन्दाहरुले आयोजना प्रभावित क्षेत्रका वासिन्दाको सम्बन्धमा २०७३ साल वैशाखमा उच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्नुपर्ने,स्थानीयलाई आयोजनाको कम्तीमा १० प्रतिशत शेयर दिनुपर्ने, आयोजनाले प्रतिबद्धता जनाएको बाटो, बिजुली, स्वास्थ्य र शिक्षा लगायतका विषयमा कार्यान्वयन हुनेपर्ने माग राखेका छन् ।