
तेहरान, फागुन १९ । इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने थप सङ्क्रमितको सङ्ख्या १२ भएको इरानी अधिकारीले सोमबार बताएका छन् ।
यससँगै इरानमा कोभिड १९ भनिने यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या कूल ६६ पुगेको छ । इरानमा अघिल्लो दिन ५ सय २३ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएकोमा सोमबार यो सङ्ख्या तेब्बर बढेर एक हजार ५ सय १ पुगेको बताइएको छ ।
रानका उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले सोमबार एक पत्रकार सम्मेलन गरी भने, “इरानमा मार्च २ को रातिसम्म मृत्यु हुने विरामीको सङ्ख्या ६६ पुगेको र सङ्क्रमणका कारण एक हजार ५ सय १ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।”
इरानमा सरकारी तथ्याङ्कमा मृत्यु हुनेको सङ्ख्या ६६ बताइएपनि योभन्दा निकै धेरै व्यक्तिको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको र सङ्क्रमितको सङ्ख्या पनि निकै धेरै रहेको त्यहाँका स्थानीय अधिकारीहरूले बताएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताउँदै आएका छन् ।
कोरोना भाइरसको सङ्क्रमण भएको भनिएको इरानको दक्षिणी क्षेत्रका एक सांसदले कोरोनाबारे सरकारले तथ्याङ्क लुकाएको भन्दै बीबीसीलाई गत बिहीबार दिएको तथ्याङ्कमा २ सय १० व्यक्तिको मृत्यु भइसकेको बताएका थिए जबकी त्यतिबेलाको सरकारको तथ्याङ्कमा इरानमा मृत्य हुने व्यक्तिको सङ्ख्या ३० भन्दा कम उल्लेख गरिएको थियो ।रासस/एजेन्सी
प्रतिक्रिया दिनुहोस्