
भक्तपुर । भक्तपुर सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिर आज भक्तजनहरुका लागि खुल्ला गरिएको छ ।
मंगलबार महाशिवरात्री पर्व परेकाले बिहानैदेखि भक्तजनका लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बालहरि चालिसेले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो मन्दिर भक्तजनहरुका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रीका दिन मात्र खुल्ला गरिन्छ । अन्य दिन पुजारीहरुले पूजाआजा गरिदिने व्यवस्था रहेको छ ।
उहाँले समितिको वार्षिक कार्यक्रम अनुसार आज भक्तजनहरु आफैं मन्दिरभित्र प्रवेश गरी पूजाअर्चना गर्न पाउने भएकाले पनि भक्तजनहरुको भीड लागेको बताउनुभयो ।
पर्वका समयमा हुने विभिन्न सुरक्षा अवस्थालाई ध्यान दिँदै प्रहरी तथा सवारी ब्यवस्थापनका लागि ट्राफिक प्रहरी परिचालन भएका छन् ।
महाशिवरात्रिका लागि भारत तथा नेपालका विभिन्न स्थानबाट साधुसन्त आएका छन् । नागा बाबा, भंगी, जोगी र अघोरी बाबा लगायतका साधुसन्तले मन्दिरको क्षेत्र रोमाञ्चित बनेको छ । जोगी, सन्त, महन्थलाई भोलि दक्षिणा तथा कम्बल, धोती प्रदान गरी बिदाइ गरिने अध्यक्ष चालिसेले बताउनुभयो ।
आज केदारनाथको शिर डोलेश्वर मन्दिरमा रातको चार प्रहरमा चार प्रकारका पूजा पनि गरिने कार्यक्रम रहेको छ ।
पछिल्लो समयमा धार्मिक क्षेत्रका रूपमा परिचित डोलेश्वर मन्दिरमा पूजा आजा गर्न उपत्यका लगायत आसपासका जिल्लाबाट समेत भक्तजनहरु बिहानैदेखि मन्दिरमा दर्शन गर्न आउने क्रम जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्