२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

सुर्खेतमा ६ अर्वको लगानीमा खानेपानी आयोजना संचालन हुने


195
Shares

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ६ अर्ब लगानीमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालनमा आउनेभएको छ ।

भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यकामा ल्याएर खानेपानी आपूर्ति गर्ने उद्देश्यले आयोजना सञ्चालनमा ल्याउन लागिएको हो । आयोजनाका लागि ८० प्रतिशत रकम संघीय सरकार तथा २० प्रतिशत रकम प्रदेश, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थाबाट जुटाइने छ ।

भेरी लिफ्टिङ आयोजनाको डिपिआर बनिसकेको र त्रिपक्षीय साझेदारीमा लगानी सुनिश्चित भएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिनुभएको छ । भेरीको पानी लिफ्टिङका साथै नगरभित्रका अन्य पानीका मुहानको संरक्षण, एकीकृत जलाधार व्यवस्थापन, जीर्ण आयोजनाको सुधार, उपभोक्ता संस्थाको सबलीकरणलगायतमा उक्त बजेट खर्च गरिनेछ ।

वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्याको आँकलन गरेर खानेपानी आयोजना निर्माण गर्न लागिएको हो । भेरी नदीबाट लिफ्ट प्रविधिमार्फत सुर्खेत उपत्यकाको अमृतडाँडामा पानी लगिनेछ ।

अमृतडाँडामा रिजर्भसन ट्यांकी बनाएर मुख्य लाइनमार्फत उपत्यकामा पानी वितरण गर्ने योजना छ ।