
एजेन्सी । युक्रेन र रुसबीचको तनाव कम हुन सकेको छैन । सोमबार दुई देशका अधिकारीबीच वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन । जसले जारी युद्ध अझै बढ्ने देखिएको छ ।
यसैबिच, रुसी सेना ६४ किलोमिटरको दूरीमा रहेको युक्रेनको राजधानी कीवतर्फ अघि बढिरहेको छ । उनीहरू साथमा अत्याधुनिक हतियार र विस्फोटक पदार्थसहितको बख्तरबन्द गाडीमा त्यसतर्फ बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
युक्रेनको ‘कीव’ र ‘खारकीव’ शहरमा रुसको आक्रमणमा कमी आएको छैन । पूर्वी मध्य युक्रेनमा बारम्बार हवाई आक्रमण र बम विष्फोटले ठूलो संख्यामा मानिसहरूलाई बंकरमा लुक्न बाध्य पारेको छ । जारी युद्धमा निर्दोष नागरिकले ज्यान गुमाइरहेका छन् । बाँचेकाहरू पनि कहिले मर्ने हुन् थाहा छैन ।

६ दिनसम्म बंकरमा लुकेर बसेका जनताको धैर्यको बाँध पनि टुट्न थालेको छ । न खानको लागि खाना बाँकी छ, न पिउनका लागि पानी, त्यसमाथि ज्यानको खतरा त हुने नै भयो । युद्धको तनावपूर्ण स्थितिमा मौका मिलेका नागरिकहरूले ‘कीव’ र ‘खारकीव’ शहर छोडेर जाने कोसिस गरिरहेका छन् ।
पश्चिमी युक्रेनको सीमा जोडिएका युरोपका ४ देश हंगेरी, पोल्याण्ड, स्लोवाकिया र रोमानियाको सिमानामा ठूलो संख्यामा मानिस पुगेमा छन् । मानवीय सहयताका लागि हंगेरीले सुरुवात गरेसँगै अन्य राष्ट्रहरूले पनि उनीहरूलाई साथ दिइरहेका छन् ।
युक्रेन छोडेर अन्य ठाउँमा जानेहरूमा सबैभन्दा बढि महिला र बालबालिका छन् । युक्रेन, घाना, भारत र नेपालका मानिसहरूले भरिएको रेलमा बच्चा रोएको र कराएको आवाज सुनिएको थियो । चिसो मौसम भए पनि धेरै मानिसहरूसँग पर्याप्त कपडा नभएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।

रेलमा यात्रा गरिरहेका मानिससँग अन्तर्राष्ट्रिय मिडियाले कुराकानी गर्दा उनीहरूले धेरै दिनदेखि केही पनि नखाएको बताएका थिए । चिसो, युद्ध र खानाको अभावले अब आफ्नो ज्यान जानसक्ने उनीहरूले बताएका थिए । घानाको एक नागरिक विगत चार दिनदेखि खारकीवमा बसेको भन्दै बासिन्दाले आफु बिगत ४ दिनदेखि खारकीव बंकरमा लुकेर बसेको र खानेकुरा सकिएपछि सबै मानिसहरू त्यहाँबाट निस्कीएको बताए ।
युक्रेनबाट हंगेरी सीमासम्म पुग्न विशेष रेलको व्यवस्था गरिएको छ । साथै युक्रेनबाट आएका सबै शरणार्थीहरूलाई राजधानी बुडापेस्ट पुर्याउन पनि विशेष रेलको व्यवस्था गरिएको बीबीसीले जनाएको छ ।
युक्रेनबाट भागेका मानिसहरूको समस्यालाई ध्यानमा राख्दै, हंगेरी र बुडापेस्ट रेलवे स्टेशनमा ठूलो संख्यामा शिविरहरू स्थापना गरेको छ । उनीहरूलाई खाना र औषधिको व्यवस्था पनि गरिरहेको छ ।
यस्ता धेरै शरणार्थीहरू ज्यान जोगाएर कुनै न कुनै रूपमा युरोपको सीमामा पुगेका छन् । तर, यो बिनासकारी युद्धको अन्त्य कहिले हुन्छ केहि अनुमान लगाउन सकिँदैन । घर छोडेर युरोप पलायन भएका यी शरणार्थीहरूको भविष्य कहाँ छ ? रिर्पोटका अनुसार हालसम्म ५ लाखभन्दा बढी मानिसले युक्रेन छाडिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्