१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सर्लाहीको चितायन मन्दिरमा भाण्टाको भार र धानको मटका चढाउनेको भिड


741
Shares

सर्लाही । सर्लाहीको हरिपुरस्थित लक्ष्मीनाथ महादेव मन्दिर (चितायन मन्दिर) परिसरमा दिनभर भक्तजनहरुको घुईंचो लागेको छ ।

महाशिवरात्रि पर्वको अवसरमा हरिपुर नगरपालिका–७ स्थित मन्दिरमा भाण्टाको भार तथा धानको मटका चढाउनका लागि हजारौं भक्तजनहरुको भिड लागेको हो ।

छालारोग निको हुने विश्वासका साथ हरेक वर्ष महाशिवरात्रीका दिन चितायन मन्दिरमा भाण्टाको भार चढाउने प्रचलन छ । त्यस्तै चिताएको कुरा पूरा हुने विश्वासका साथ भक्तजनले परालद्वारा बाँधिएको धानको मटका (मौर) चढाउने गर्दछन् ।

मन्दिर परिसर भक्तजनले चढाएको भाण्टाको भार र धानको मट्काले भरिभराउ बनेको छ । भक्तजनको भिडलाई व्यवस्थापन गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्वयंसेवकलाई व्यवस्थापनका लागि भ्याई नभ्याई भएको हो । यहाँ भाण्टाको भार र धानको मट्का चढाउन छिमेकी महोत्तरी, सिन्धुली, महोत्तरी सहित भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

हरेक वर्ष महाशिवरात्रिको दिनदेखि यहाँ मेला समेत लाग्ने गरेको छ । यसवर्ष आगामी फागुन १४ गतेसम्म मेला चल्ने लक्ष्मिनाथ चितायन महादेव विकास समितिका रामकृष्ण चौधरीले जानकारी दिनुभयो ।

यसवर्ष भाण्टाको भार र धानको मट्का चढाउने सहित एकलाख भन्दा बढीले मेला अवलोकन गर्ने चौधरीको अनुमान रहेको छ । मतका कुवा, विद्युतीय रेल, घोडचढी, रोटे पिङ, साँस्कृतिक कार्यक्रम, सर्कस लगायत अन्य आकर्षण समेत रहेको चौधरीले जानकारी दिनुभयो ।