१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चितवनमा गाउँपालिकाद्वारा एमबीबीएस चिकित्ससहित १६ शय्याको अस्पताल सञ्चालन


286
Shares

चितवन । जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएको छ ।

पृथ्वीराजमार्ग देखि मुग्लिन नारायणगढ सडक र पहाडमा हात्तीवाङसम्म रहेको गाउँपालिकामा सुविधासम्पन्न अस्पतालको अभावले उपचार पाउनै कठिन भएपछि गाउँपालिका आफैंले अस्पताल सञ्चालन गरेको हो ।

सामान्य चोटपटक लागे पनि भरतपुर, काठमाडौं र पोखरा धाउनुपर्ने बाध्यता भएपछि गाउँपालिकाले एमबीबीएस चिकित्सकसहितको १६ शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ बताउनुहुन्छ ।

कोभिडको समय जनता उपचार अभावमा छटपटिएको देखेर अस्थायी रूपमा सुरु गरिएको अस्पताललाई अहिले इच्छाकामना अस्पताल नाम दिइएको उहाँको भनाइ छ ।

अहिले अस्पतालबाट ल्याब, भिडियो एक्सरे, एक्सरे, व्यस्थित प्रसुति सेवा प्रदान गरिएको छ । यी सेवाबाट विपन्न चेपाङ समुदायदेखि राजमार्गमा हुने दुर्घटनाका घाइतेले समेत आकस्मिक स्वास्थ्य सेवा पाएका छन् ।

अस्पताल सञ्चालन भएसँगै टाढा–टाढा जानुपर्ने बाध्यता र रकम अभावमै उपचारबाट बञ्चित हुन नपरेको अस्पतालकी डा. विकीरण सिलवाल बताउनुहुन्छ ।

स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाका अनुसार जनप्रतिनिधिले चाहेमा स्थानीय ठाउँको विकासमा समस्या नहुने धारणा राख्नुहुन्छ ।

कार्यपालिकाले निर्णय गरेपछि विभिन्न दाताको सहयोगमा अस्पतालको आधारभूत सेवा दिन सकेको जानकारी सापकोटाको भनाइ छ ।

मेडिकल सिटी भनेर चिनिने चितवनका अधिकांश स्वास्थ्य सेवा सदरमुकाम भरतपुर केन्द्रीत छन् ।

जिल्लाका ग्रामीण भेगका स्थानीयलाई स्वास्थ्योपचार प्रदान गर्न गाउँपालिकाले सञ्चालन गरेको अस्पतालले गरिव जनता स्वास्थ्य सेवा पाउनबाट बन्चित हुनु त परेको छैन ।

तर, सीमित आर्थिक स्रोतको गाउँपालिकाले थालेको अभियानलाई दीर्घकालिन गराउन प्रदेश र संघीय सरकारले विशेष चासो दिन भने जरुरी छ ।