
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि गरिएको व्याख्यात्मक घोषणा अर्थहीन भएको टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले व्याख्यात्मक घोषणा सत्ता गठबन्धनको लाज छोप्ने साधन मात्रै भएको टिप्पणी गर्नुभएको हो ।
एमसीसीलाई गलत ढङ्गले गिजोलिएको भन्दै उहाँले आफूहरुलाई एमसीसी पारित गर्ने प्रक्रियामा संलग्न हुन नदिइएको आरोप पनि लगाउनुभयो । एमसीसी अनुमोदन गर्दा सभामुखले नियम मिचेको आरोप लगाउँदै उहाँले संसदको एउटा अधिवेशनमा पेस भएको प्रस्ताव त्यो अधिवेशनमा अघि नबढे अर्को अधिवेशनमा फेरि ल्याउनुपर्नेमा त्यसो नगरिएको जिकीर गर्नुभयो ।
आफूहरु सभामुखको राजीनामा पर्खिरहेको भन्दै त्यो नहुँदासम्म संसद चल्न नसक्ने उहाँको भनाइ थियो । आफूलाई पदच्यूत गर्न मात्र एमसीसीमा बखेडा झिकिएको प्रष्ट भएको पनि ओलीले बताउनुभयो । दाहाल र माधव नेपालले कार्यकर्ता उचालेर सडकमा ढुंगामुडा गर्ने आफूहरुचाहिँ सत्तामा टाँसिरहने चरित्र देखाएको पनि ओलीको आरोप थियो ।
यसअघि, एमसीसी सम्झौता अनुमोदन गरिएकोप्रति धारणा सार्वजनिक गर्दै एमालेले सम्झौंता अनुमोदनसँगै निहीत स्वार्थसहित चालिएका चाल र प्रचारबाजीको पटाक्षेप भएको जनाएको थियो । राष्ट्रको हित प्रतिकूल नहुने गरी एमसीसी सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै एमालेले संसदमा पेश गरिएको व्याख्यात्मक टिप्पणी भ्रमको खेती मात्र भएको जनाएको छ ।
दुई सरकारबीच भएको सम्झौता, सहमतिको झन्डै आधा दशकपछि एकतर्फ व्याख्याद्वारा संशोधन हुन्छ भन्नु जनतालाई ढाँट्ने दुष्प्रयास भएको एमालेको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्