
कपिलवस्तु । भारतसँग जाेडिएकाे कपिलवस्तु सीमा नाका दुई दिनको लागि बन्द हुने भएको छ ।
भारतको उत्तरप्रदेश सिद्धार्थनगरमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारतीय प्रशासन दुवैकाे समन्वयमा सीमा नाका दुई दिनका लागि बन्द गर्न लागिएकाे हाे ।
कपिलवस्तुसँग जोडिएको कृष्णनगर, मार्यादपुर चाकलचौडा लगायतका सीमानाका फागुन १७ देखि १९ गतेसम्म बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निर्वाचनको ४८ घण्टा पूर्व फागुन १७ गते बेलुकी ६ बजेपछि सुरक्षाका लागि नेपाल आवतजावत गर्न बन्द गरेको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेयले बताउनुभयो ।
नाका बन्द हुँदा पनि टाढाबाट नियमित रूपमा नेपाल आउने यात्रु भित्रिन सक्नेछन् भने निर्वाचन अवधिमा आपतकालीन मेडिकलका लागि जानुपरे भारतीय प्रहरीसँगको समन्वयमा जान सकिने उहाँले जानकारी दिनुभयो ।
निर्वाचनका बखत सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिमा सीमा नाका बन्द गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्