
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि मनाङ मर्स्याङ्दी क्लबका नाइजेरियाली प्रशिक्षक फुजा तोपेले राजीनामा दिएका छन् ।
२०७५ सालदेखि घरेलु फुटबलको महारथी क्लब मनाङको प्रशिक्षण सम्हालेका फुजाले मंगलबार राजीनामा दिएको क्लबले जनाएको छ ।
‘ए’ डिभिजन लिगमा यो वर्ष मनाङले पाँचौं स्थानमा खुम्चिनु परेकोमा उनले आफूलाई जिम्मेवार मानेका छन् ।
२०७५ सालमा आयोजित ‘ए’ डिभिजन लिगमा मनाङलाई विजेता बनाएपछि उनको चर्चा चुलिएको थियो । २०७६ को लिगमा मनाङ तेस्रो भएको थियो ।
नाइजेरियाको यू–१९ राष्ट्रिय टोलीको अनुभव लिइसकेका तोपेको प्रशिक्षणमा मनाङले मोफसलका केही नकआउट प्रतियोगिता पनि जितेको थियो ।
यस सिजनको लिगमा मनाङले ४ हार, ३ बराबरी र ६ जितको नतिजासहित पाँचौं स्थानमा रहनुपर्यो । कीर्तिमानी ८ पल्टको च्याम्पियन मनाङ २०६९ यता पहिलोपल्ट लिगको शीर्ष तीनमा पर्न असफल भएको थियो ।
अब मनाङ मर्स्याङ्दी क्लबले मोफसलमा हुने खप्तड गोल्डकपमा भने क्लबका अर्का प्रशिक्षक राजेन्द्र तामाङको प्रशिक्षणमा खेल्ने क्लबले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्