
काठमाडौं । प्रतिनिधि सभाले अमेरिकी सहयोग (एमसीसी) सम्झौता अनुमोदन गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र दुई लाइन संघर्ष चर्किएको छ ।
एमसीसी पारित गर्न नहुने पक्षमा रहनु भएका नारायणकाजी श्रेष्ठसहित पूर्वएकता केन्द्र समूहका नेताहरुले पार्टीबाट विद्रोह गर्न सक्ने अवस्था देखिएपछि अध्यक्ष दाहालले मंगलबार हात्तिवनस्थित श्रेष्ठको निवासमा पुगेर उहाँसँग छलफल गर्नु भएको छ ।
भेटमा दाहालले पार्टीभित्रको मतभेदलाई पार्टीमै बसेर छलफल गर्न आग्रह गर्नुभयो । आफूले कुनै प्रसंगमा भनेको विषयलाई लिएर अन्यथा नठान्न र कुनै नयाँ निर्णय नगर्नसमेत दाहालले श्रेष्ठलाई भनेको बताइएको छ ।
श्रेष्ठले आफुले नयाँ कदम चाल्नेबारे केही नसोचेको तर सोमबारको अभिव्यक्तिले भने झस्काएको जवाफ दिनु भएको थियो । सोमबार आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले कोही नयाँ बाटो हिड्न चाहेमा स्वतन्त्र हुने अभिव्यक्ति दिनुभएको थियो ।
पूर्वएकता केन्द्रका नेताहरुले यसलाई छाडेर गए हुन्छ भनेको अर्थमा बुझेका छन् । उनीहरुले अपमान सहेर प्रचण्डसँग बस्न सकिन्न भन्दै श्रेष्ठलाई दबाव दिएका छन् । यसैबीच, आगामी शुक्रबार माओवादीको केन्द्रीय कमिटीको बैठक बस्दैछ ।
महासचिव लगायत पदाधिकारीहरु छान्ने कार्यसूची रहेको सो बैठकमा पूर्वएकताकेन्द्रका नेताहरुले फरक मत राख्ने र त्यहीँबाट पार्टी फुट्न सक्ने सूचना पाएपछि प्रचण्डले त्यसलाई मिलाउन सक्रियता बढाएको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्