
इलाम । नेपाल टेलिकमको अप्टिकल फाइबरबाट पूर्वी पहाडी जिल्ला जोड्ने काममा लापरबाही हुँदा मेची राजमार्गमा क्षति पुग्न थालेको छ । ३ वर्ष अघिबाट मेची राजमार्गमा फाइबर बिच्छ्याउने काम सुरू भएको थियो ।
राष्ट्रिय गौरवको आयोजना भनिएपनि निर्माण कम्पनीले राजमार्गमा नाला र मोडहरुमा खाल्टो खनेर छोड्दा सडकमा क्षति पुगेको हो । झापाको चारआलिबाट पाँचथरको फिदिमसम्म अहिले फाइबर बिच्छ्याउने काम भइरहेको छ ।
दक्षिण कोरियाको निर्माण कम्पनीले फाइबर बिच्छ्याउने कामको ठेक्का पाएपनि साइडमा नेपाली व्यवसायीले काम गर्दै आएका छन् । झापाको चारआलीदेखि इलाम बजारसम्मको ७५ किलोमिटर क्षेत्रमा फाइबर बिच्छ्याउन एकैपटक नाला खनेर छोडिएको थियो । जसले गर्दा वर्षातमा सडकमा धेरै क्षति पुगेको थियो । फाइबरको काम लापरबाही पूर्वक हुँदा सडक धस्किने र भत्किएपछि दुर्घटना समेत बढेको रोङ गाउँपालिका अध्यक्ष शमसेर राईले बताउनुभयो ।
२ वर्षमा सक्नेगरि अप्टिकल फाइबर बिच्छ्याउने काम कोरियन कम्पनीलाई नेपाल टेलिकमले २०७५ सालमा ठेक्का दिएको थियो । काम गर्ने कम्पनीले राजमार्गको नाला खनेर छोड्दा अधिकांश सडक सडकमा पानी सिपेज क्षति पुगेको छ ।
अहिले ठाउँठाउँमा नाला खनिएर पुरिएपनि राजमार्गको मोडहरुमा फाइबर क्रसिङ्ग गर्दा खनिएको खाल्टा उस्तै छन् । राजमार्गका मोडहरु खनिएको खाल्टा अहिले साना सवारीसाधनका लागि धराप बनेका छन् । अहिले घुम्ति र मोडहरुमा सडक खनिएर छोडिएकाले तत्काल मर्मत गर्न टेलिकमलाई पत्राचार गरिएको डिभिजन सडक इलामका प्रमुख बिदुर पोख्रेलले बताउनुभयो ।
सडक डिभजिन इलामले राजमार्गमा फाइबर बिच्छ्याउन अनुमति दिनु अघि निर्माण कम्पनीबाट धरौटी रकम समेत लिएको छ । तर नेपाल टेलिकम र सडक विभागबीचको सम्झौतामा निर्माणका क्रममा भत्किएको सडक टेलिकमले नै मर्मत गर्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्