
एजेन्सी । रुसले युक्रेनमा आक्रमण थालेपछि विश्वभर कच्चा तेलको मूल्य सन् २०१३ यताकै उच्च भएको छ ।
अहिले कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० अमेरिकी डलर नजिक पुगेको छ । चर्को मूल्य वृद्धि र युद्धका कारण बढेको आपूर्ति समस्यालाई नियन्त्रण गर्न अमेरिका र यसका सहयोगी राष्ट्रहरूले रिजर्भमा रहेको तेल निष्कासन गर्ने भएका छन् ।
अमेरिका र अन्तर्राष्ट्रिय उर्जा एजेन्सीमा आवद्ध अन्य राष्ट्रहरूले भण्डारणमा रहेको ६ करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेका हुन् । अमेरिकाले मात्रै रिजर्भबाट ३ करोड ब्यारेल तेल निष्कासन गर्ने भएको छ ।
बाँकी ३ करोड ब्यारेल भने जर्मनी, बेलायत, इटाली, जापान, कोरियालगायत अमेरिकाका युरोपेली र एसियाली सहयोगी राष्ट्रहरूले निष्कासन गर्नेछन् ।
निष्कासन हुन लागेको ६ करोड ब्यारेल तेल अन्तर्राष्ट्रिय उर्जा एजेन्सीका सदस्य राष्ट्रहरूसँग रहेको कुल आपतकालीन भण्डारणको ४ प्रतिशत भएको बताइएको छ । यी देशहरूसँग १ दशमलव ५ अर्ब ब्यारेल तेल आपतकालीन भण्डारणमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्