
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि बिहीबारदेखि प्रश्न-पत्र छाप्न सुरु गरेको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा एसईईका प्रश्नपत्रहरू छापिँदै छन् । जनक शिक्षाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल झाका अनुसार तीनवटा सुरक्षा घेराबीच एसईईका प्रश्न-पत्रहरू छाप्ने कार्य भइरहेको छ । प्रश्न-पत्र चैत मसान्तभित्र छापिएर जिल्ला–जिल्लामा पठाइनेछ । बुधबार साँझ बसेको बोर्ड बैठकले प्रश्नपत्र छाप्ने निर्णयगरेको थियो ।
बोर्डले पाँच लाख सेटभन्दा बढी प्रश्नपत्र छपाउँदैछ । आवश्यकभन्दा १० प्रतिशत बढी संख्यामा प्रश्न-पत्र छपाउने चलन छ । गत वर्ष कक्षा–१२ को परीक्षा अनलाइन माध्यमबाट लिइएको थियो । अर्को वर्ष त्यस्तै मोडालिटीबाट कक्षा–१० को परीक्षा सञ्चालन गर्ने योजना रहेकोले योपटक केही स्थानमा अनलाइनमा प्रश्नपत्र पठाउन लागिएको बोर्डले जनाएको छ ।
कोभिड–१९ का कारण अघिल्ला दुई वर्षको एसईई आन्तरिक मूल्यांकनबाट गरिएको थियो । त्यतिबेला छापिएका ५१ लाख सेट प्रश्नपत्र अझै थन्किएर बसेका छन् । यो वर्षको एसईई आउँदो वैशाख ९ देखि २० गतेसम्म सञ्चालन हुँदैछ । परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् ।
परीक्षाका लागि दुई हजार परीक्षा केन्द्र तोकिएको छ । बोर्डले आउँदो जेठभित्र हुने गरी कक्षा–१२ को परीक्षा तालिका पनि सार्वजनिक गर्ने तयारी गरेको छ । केही दिनभित्रै परीक्षा मिति तोक्ने बोर्डको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्