
बैतडी । कैलपाल क्रिकेट क्लब र पाटन क्रिकेट क्लब बैतडीमा जारी ‘पाटन प्रिमियर लिग’ (पीपीएल) टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार सम्पन्न सेमिफाइनलका खेलहरुमा ग्वाल्लेक क्रिकेट क्लबलाई १ सय ३७ रनले पाखा लगाउँदै कैलपाल र पाटन क्रिकेट ऐकेडेमीलाई १ सय २८ रनले हराउँदै पाटन क्रिकेट क्लब उपाधि नजिक पुगेका हुन् ।
कैलपालले दिएको २ सय ३८ रनको विशाल लक्ष्य पन्छाएको ग्वाल्लेक ९.२ ओभरमा मात्र १ सय रनमा समेटियो । उसका लागि पिताम्बर जोशीले ३१ र पञ्कज जोशीले २१ रन जोडे । कैलपालका सन्तोष चन्दले ४ र मुकेश चन्दले ३ विकेट लिए ।
त्यसअघि श्रीकृष्ण माविको खेलमैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको कैलपाल १९.२ ओभरमा २ सय ३७ रनमा अलआउट भयो । जसमा प्रदीप चन्दले अर्धसतकीय पारी खेल्दै ६६ तथा वीरेन्द्र चन्दले ४१ रन हिर्काए ।
ग्वाल्लेकका पिताम्बर जोशीले ३ तथा वीरेन्द्र बोहरा र दीपक जोशीले २/२ विकेट हात पारे । खेलका म्यान अफ द म्यान कैलपालका प्रदीप चन्द चुनिएका स्कोरर किरन चन्दले जानकारी दिए ।
यस्तै, अर्को सेमिफाइनलमा पाटन क्रिकेट क्लवले दिएको १ सय ७५ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको एकेडेमीले ८.२ ओभरमा मात्र ४६ रनमा अलआउट भयो । हरिश विष्टले सर्वाधिक १८ रन जोडेपनि अन्य ब्याट्सम्यान नचल्दा एकेडेमी सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो ।
एकेडेमीलाई सस्तैमा समेट्न क्लवका सन्नी विष्टले ५ र दीपेन्द्र चन्दले ३ विकेट चट्काए । पाटन क्रिकेट क्लबको आयोजनामा फागुन १३ गतेदेखि शुरु भएको प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्