२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


कांग्रेस अधिवेशन : बलरा नगरपालिकाको दुई वडामा सर्वसम्मत नेतृत्व चयन


0
Shares

सर्लाही । सर्लाहीको बलरा नगरपालिकाका दुई वटा वडामा बिहीबार नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ ।

दुई पक्षबीचको विवादले क्षेत्र नं. ४ मा पर्ने बलरा नगरपालिकाको वडा नं. ८ गडहीया र वडा नं. ९ अचलगढमा कांग्रेसको वडा अधिवेशननै हुन सकेको थिएन ।

दुबै ठाउँमा गत मंसिर १२ र १३ गते वडा अधिवेशन गराउन खोज्दा गोली नै चलेको थियो । झडपमा परी निर्वाचन अधिकृत, सुरक्षाकर्मी र पार्टीका नेता कार्यकर्ता घाइते भएका थिए । झडप भएर वडा अधिवेशननै रोकिएको त्यही ठाउँमा आज दुई महिनाघि सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।

वडा समिति र वडाबाट छानिएर आउने क्षेत्रीय प्रतिनिधिमा दुवै पक्षले भागवण्डा मिलाएर वडा अधिवेशनको विवाद टुंग्याएका हुन् । वडा नं. ८ गहडीयामा संस्थापन इतर पक्षका छितनु साह वडा सभापति बन्नु भएको छ । सो वडामा संस्थापन पक्षले ९ जना क्षेत्रीय प्रतिनिधि पाएको छ भने संस्थापन इतर पक्षले वडा सभापतिसहित ७ जना क्षेत्रीय प्रतिनिधि लिएको छ ।

यसैगरी वडा नं. ९ अचलगढमा पनि संस्थापन इतर पक्षलेनै सभापति लिएको छ । त्यहाँ वडा सभापतिमा प्रमोद चौधरी निर्वाचित हुनुभएको हो । संस्थापन इतरले सभापतिसहित ४ जना क्षेत्रीय प्रतिनिधि लिएर १२ जना क्षेत्रीय प्रतिनिधि संस्थापन पक्षलाई दिएको छ । गडहीयास्थित इलाका प्रहरी कार्यालयको छेउमै संस्थापन पक्षबाट प्रदेश सरकारका मन्त्री समेत रहनुभएका नेता वीरेन्द्र प्रसाद सिंह र संस्थापन इतर पक्षबाट नेता कौशलकिशोर राय बसेर दुवै वडाको विवाद समाधान गरी भागवण्डा मिलाउँदै वडा अधिवेशन गराउनु भएको हो ।

कांग्रेस सर्लाहीको जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्र प्रसाद सिंह र संस्थापन इतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण राय सभापतिको दावेदार हुनुहुन्छ ।