२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कांग्रेस चितवन सभापति पदको मतगणना आजै


234
Shares

चितवन । नेपाली कांग्रेस चितवनको अधिवेशनका लागि भएको मतदान सकिएको छ ।

शुक्रबार कांग्रेस चितवनको जिल्ला अधिवेशनको लागि भएको मतदान बेलुका साँढे ६ बजे सकिएको निर्वाचन समिति संयोजक ज्ञानेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार कुल प्रतिनिधि २९०६ जना रहेपनि २८०४ मत मात्रै खसेको हो । सभापतिका लागि खसेको मत आजनै गणना गर्ने बताउनुभयो ।

सभापति पदको टुंगो लागेपछि मात्रै अन्य पदको मतगणना गर्ने तयारी रहेको हो ।

चितवन कांग्रेस सभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका मिलनबाबु श्रेष्ठ र संस्थापन इतरका चार जनाले जिल्ला सभापतिमा उम्मेदवारी दिएका छन् ।

संस्थापन इतरमा उत्तम जोशी, राजेश्वर खनाल, डा. सूर्यकान्त घिमिरे र कैलाश कोइराला छन् । जोशी वर्तमान जिल्ला कार्यसमितिका सचिव हुन् । सभापतिका लागि उम्मेदवारले ५० प्रतिशत भन्दाबढी मत ल्याउन सकेनन् भने दोस्रो चरणको मतदान हुने छ ।

दुई जना उपसभापतिका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । शालिक शर्मा पौडेल, सुरवीर पोखरेल, उद्धव लोहनी, महेश बानियाँ, हेमलाल भट्टराई, राजेन्द्र डोटेल, रघुनाथ भट्ट, भुवन खनाल, मोहितजंग पाण्डे, निलमणि पाठक, तेजप्रसाद अधिकारी, राजन गौतम, बुद्धिबहादुर गुरुङ, निर्मलकुमार श्रेष्ठ र राजीव न्यौपानेले उम्मेदवारी दिएका छन् ।

दुई सचिवका लागि ८ जना र २ सहसचिवका लागि १० जनाले उम्मेदारी दिएका छन् । ४१ कार्यसमिति सदस्यका लागि १२२ जनाले उम्मेदवारी दिएका छन् । महासमिति सदस्यतर्फ ३२ पदमा ३६ जनाको उम्मेदवारी परेको छ ।

कार्य समिति सदस्यमा प्रत्यक्ष पालिकातर्फ महिला सदस्यमा शुक्रमिया महतो र समानुपातिकतर्फ आदिवासी जनजाती महिला सदस्यमा मिना कुमारी गुरुङ, राममाया गुरुङ र राममाया पिया र थारु खुलातर्फ विश्राम महतो निर्विरोध निर्वाचित भइसकेका छन् ।