१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डकीका मुख्यमन्त्री पाेखरेल मधेश प्रदेशमा, समृद्धिका लागि सहकार्यको प्रस्ताव


130
Shares

जनकपुरधाम । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेश प्रदेश र गण्डकी प्रदेशबीच समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्यको आवश्यक्ता रहेको औंल्याउनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले दुई प्रदेश सरकारबीचको सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्रहरूको खोनी गरेर अगाडि बढ्न आफूहरू तयार रहेको बताउनुभयो ।

शनिबार जनकपुर–पोखरा विमान सेवा सुरु भएपछि पहिलो उडानमा मधेश भ्रमणमा जनकपुर पुग्नुभएका उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै संघीयतालाई बलियो बनाउन र प्रदेश–प्रदेश बीचको सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले पोखरा पर्यटकीय गन्तव्य रहेको र जनकपुर धार्मिक पर्यटकीय क्षेत्र भएकाले दुवै प्रदेशबीचमा पर्यटकीय विकास गरेर यसबाट लाभ लिनसक्ने बताउनुभयो । उहाँले मधेश प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको अधिक सम्भावना रहेको बताउनुभयो ।

त्यसैगरी मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महताले दुवै प्रदेशबीचको सहकार्यबाट पर्यटन क्षेत्र लाभान्वित हुनसक्ने बताउनुभयो ।

जनकपुर विमानस्थलमा मुख्यमन्त्री पोखरेललाई मधेश प्रदेशका पर्यटनमन्त्री महतो, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव, सुरक्षा निकायका प्रमुखहरूले स्वागत गर्नुभएको थियो ।