
एजेन्सी । रुस र युक्रेनबीचको युद्ध लामो समयसम्म जाने प्रक्षेपण भइरहँदा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको छ । युक्रेनी दुई शहरमा लगातार आक्रमण गरिरहेको उसले त्यहाँ भएका मानिसलाई निस्कनका लागि समय दिँदै अस्थायी युद्धविराम घोषणा गरेको हो ।
भौतिक रुपमा दुई देशबीचको युद्ध देखिए पनि यहाँ अमेरिका लगायतका शक्ति राष्ट्रहरू अप्रत्यक्ष रूपमा सहभागी भएका छन् । यसले तेस्रो विश्वयुद्ध सुरु हुने आतंक विश्वभर फैलिएको छ । तत्कालका लागि रुसले अस्थायी युद्धविराम गरे पनि पुनः यसले निरन्तरता पाउनसक्ने देखिएको छ । यस्तो अवस्थामा रुस र युक्रेनबीचको युद्ध कहिले अन्त्य होला ?

बेलायती समाचार संस्था बीबीसीले युद्ध समाप्त हुने पाँच अवस्थाहरु उल्लेख गरेको छ । अधिकांश अवस्थाहरूमा डरलाग्दा देखिन्छन् । यी सबै अवस्थाहरू अनुमानित र काल्पनिक भएको बीबीसीले लेखेको छ । तर, अनुमानले भविष्य बुझ्न मद्दत गरिरहेको छ ।
जेलेन्स्कीको हत्या र युक्रेनको कब्जा :
यो अवस्थामा रुसले छोटो तर निर्णायक युद्ध लड्नसक्छ । रुसले युक्रेन विरुद्धको आक्रमणलाई तीव्रता दिँदै राजधानी कीवलाई नियन्त्रणमा लिएर चाडैं युुद्ध अन्त्य भएको घोषणा गर्न सक्छ । अहिलेसम्मको युद्धमा रुसी वायूसेना पूर्ण रूपमा प्रयोग गरिएको छ्रैन । युक्रेनलाई आफ्नो नियन्त्रणमा लिनका लागि रुसले सबै वायूसेनालाई युद्धमा पनि लगाउने सम्भावना देखिन्छ ।

युक्रेन कब्जा गरेपछि त्यहाँ मस्को समर्थक ‘कठपुतली’ सरकार स्थापना हुनसक्छ । यदि राष्ट्रपति भोलोडिमर जेलेन्स्कीको हत्या भयो वा उनी देश छोडेर भागे भने रुसले युद्ध समाप्त गर्नसक्छ । युद्धको अन्त्य पछि रुसी राष्ट्रपति पुटिनले युक्रेनमा आफ्नो नियन्त्रण कायम राख्न केहि सेनालाई त्यहाँ बस्न आदेश दिनेछन् ।
लामो युद्ध:
यो युद्ध लामो समयसम्म लम्बिने आशंका पनि गरिएको छ । रुसी सेनाले भारी नोक्सान भोग्न सक्छ र कीवजस्ता शहरहरू कब्जा गर्न लामो समय कुर्नुपर्नेछ । रुसले सन् १९९० को दशकमा चेचन्यामा यस्तो अवस्थाको सामना गरेको थियो । यो पनि सम्भव छ कि युक्रेनी सुरक्षा बलहरूले प्रभावकारी विद्रोहीको भूमिका लिने र रुसी सैनिकहरूलाई धेरै समस्या निम्त्याउनेछन् । पश्चिमी देशहरूबाट युक्रेनले हतियार र गोला बारुद आपुर्ति गर्ने सम्भावना पनि छ ।

युरोपियन युद्ध:
युक्रेनपछि रुसी राष्ट्रपति पुटिनले अन्य छिमेकी राष्ट्रलाई पनि कब्जामा लिन प्रयास गर्ने सम्भावना पनि छ । रुसको अर्को लक्ष्य मोल्डोभा र जर्जिया पनि हुनसक्छ । तर, यी दुई देश नाटोको हिस्सा होइनन् । जसको जवाफमा पश्चिमी देशहरूले युक्रेनलाई हतियार दिए, पुटिनले लिथुआनिया, नाटो सदस्य बाल्टिक राष्ट्रहरुमा सेना पठाउने धम्की दिनसक्छ । जुन रुसका लागि नाटोसँग निकै खतरनाक र जोखिमपूर्ण युद्ध साबित हुनसक्छ । यदि पुटिन युक्रेनमा पराजित भएमा उनले अनुहार बचाउनका लागि पनि यी कदम चाल्न सक्छन् ।

कुटनीतिक समाधान:
एक साताभन्दा बढी समयदेखि चलिरहेको रुस र युक्रेन युद्धको कूटनीतिक समाधान अझै सफल भएको छैन । हालै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले अहिले बन्दुकले कुरा गरिरहेको छ भन्दै वार्ताको बाटो सधैँ खुल्ला हुनुपर्ने बताएका छन् । युद्ध समाप्तीका लागि धेरै स्तरबाट कुराकानी भइरहेको छ । फ्रान्स का राष्ट्रपति इम्यानूयल म्याक्रोनले रुसका राष्ट्रपति पुटिनसँग फोनमा कुराकानी गरेका थिए ।

बेलारुस सीमामा वार्ताका लागि रुसी र युक्रनी अधिकारीहरूले पनि भेट गरेका छन् । चीनले पनि यस मामिलामा हस्तक्षेप गर्न सक्छ र मस्कोलाई सम्झौता गर्नलाई दबाव दिन सक्नेछ । अर्को एउटा सम्झौता पनि हुनसक्छ, जसमा युक्रेनले क्राइमिया र डोनबासका केहि भागहरूमा रुसी सार्वभौमसत्ता स्वीकार गर्नेछ र बदलामा पुटिनले युक्रेनी स्वतन्त्रता स्वीकार गर्नेछन् ।
पुटिनकाे बर्हिगमन:
युक्रेनसँग युद्धका कारण पुटिनले रुसमा लोकप्रियता गुमाउने र सत्ताबाट निस्कने अवस्था पनि आउन सक्छ । ‘कीवमा जत्तिकै मस्कोमा पनि सत्ता परिवर्तनको सम्भावना छ,’ बेलायतको किंग्स कलेजका युद्ध अध्ययनका प्राध्यापक लरेन्स फ्राइडम्यानले लेखेका छन्, ‘युक्रेन युद्धमा हजारौं रुसी सैनिक मारिए र देशमाथि कडा आर्थिक प्रतिबन्ध लगाएमा पुटिनको लोकप्रियता निकै कम हुनसक्नेछ ।’

पुटिनलाई समर्थन गर्ने ठूला व्यवसायीहरूले अब पुटिनले आफ्नो हित जोगाउन नसक्ने भन्दै पुटिनको पक्ष छोड्न सक्छन् । यो अवस्थामा रुसमा नै विद्रोह हुनसक्छ । यो विरोधलाई दबाउन पुटिन सुरक्षा बलको प्रयोग गर्ने नै छन् । उनको यो कदमले उनको सत्ता जानसक्छ । पुटिनले सत्ता छोडेपछि पश्चिमी देशहरूले रुसमा लगाएको प्रतिबन्धलाई हटाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्