१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्ता गठबन्धनमा फेरी उठ्यो ‘अर्ली इलेक्सन’को चर्चा

स्थानीय चुनावको मुखैमा संघीय चुनावबारे अनौपचारिक छलफल

481
Shares

काठमाडौं । देश स्थानीय चुनावको तयारीमा होमिएको बेला सत्तारुढ गठबन्धनमा भने संघीय संसदको चुनावबारे चर्चा सुरू भएको छ ।

संसदले एमसीसी सम्झौता अनुमोदन गरेको एक साता नबित्दै गठबन्धनका शिर्ष नेताहरु अर्ली इलेक्सनको बहसमा उत्रिएका हुन् ।

सत्तारूढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले आउँदो मंसिर अघि नै संघीय संसद्को चुनाव हुन सक्ने बताएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संसद् अवरुद्ध गरिरहे मंसिर अघि नै संघीय संसद्को निर्वाचन हुने दाबी गरेका हुन् ।

नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पौडेलले संसद् सुचारु नहुने हो भने चाँडै संघीय संसद्को निर्वाचन गराउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको बताउनुभयो । उहाँले देशलाई अलमलमा राख्न नदिन पनि संसद् नचले नयाँ संसद्का लागि निर्वाचनमा छिटो जानुको विकल्प नरहेको तर्क गर्नुभयो ।

यसैगरी, महामन्त्री थापाले एमालेले संसद् चल्न नदिए मंसिरअघि नै संघीय संसद्को निर्वाचन हुने र आफ्नो पार्टीले बहुमत ल्याएर पाँच वर्ष मुलुक सानदार ढंगले चलाउने जिकिर गर्नुभयो ।

यसअघि, एमसीसी पास गरेपछि बसेको सत्तारुढ गठबन्धनको बैठकमा समेत अर्ली इलेक्सनको विषयमा अनौपचारिक छलफल भएको थियो ।